काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बिगो बमोजिमको धरौटी राखेर थुनामुक्त गराउन उच्च अदालतमा पुनः निवेदन दिएका छन् ।
सहकारी ठगी प्रकरणमा रुपन्देही जिल्ला अदालतले एक करोड धरौटीमा रिहा गर्ने आदेश दिएको भए पनि उच्च अदालत तुलसीपुरको बुटवल इजलासले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएपछि लामिछाने जेलमै छन् ।
सर्वोच्च अदालतले गत जेठ ९ मा उच्च अदालतको आदेश सदर गरेसँगै उनी थुनामै रहेका थिए ।
लामिछानेले यसअघि जिल्ला अदालत रुपन्देहीमा पनि बिगो बमोजिम दुई करोड ७४ लाख ८४ हजार रुपैयाँ धरौटी बैंक ग्यारेन्टीमार्फत बुझाउने प्रस्ताव गर्दै थुनामुक्त गराउन निवेदन दिएका थिए ।
तर, जिल्ला अदालतले सर्वोच्च अदालतले दिएको आदेश उल्टाउन नसक्ने र प्रतिवादीको बिगो छुट्याइएको अवस्था नरहेकाले माग बमोजिम आदेश जारी गर्न नसक्ने भन्दै उनको निवेदन खारेज गरेको थियो ।
जिल्ला अदालतबाट पुनः निराश भएपछि लामिछानेले सोमबार उच्च अदालतमा थुनामुक्तिका लागि निवेदन दिएका हुन् । रुपन्देही जिल्ला अदालतले यससम्बन्धी अर्को सुनुवाइ आगामी बुधबार गर्ने तय भएको बताइएको छ ।