काठमाडौं । नेपाल पत्रकार महासंघले सरकारले अवरुद्ध पारेको अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण प्रक्रिया तत्काल खोल्न माग गर्दै ७२ घण्टे अल्टिमेटम दिएको छ ।
बुधबार महासंघका अध्यक्ष निर्मला शर्मा नेतृत्वको टोलीले सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङलाई ज्ञापनपत्र बुझाउँदै यस्तो चेतावनी दिएको हो । महासंघका महासचिव रामप्रसाद दाहालद्वारा हस्ताक्षरित उक्त ज्ञापनपत्रमा दर्ता र नवीकरण कार्य सुचारु नभए आन्दोलनमा उत्रिने उल्लेख गरिएको छ ।
ज्ञापनपत्र बुझ्दै मन्त्री गुरुङले सञ्चारमाध्यमलाई परेको असहजता अन्त्य गर्न सरकार गम्भीर रहेको भन्दै संक्रमणकालीन व्यवस्था गर्ने आश्वासन दिए । उनले निकट भविष्यमा नयाँ नियमावली ल्याएर समस्या समाधान हुने दाबी समेत गरे ।
छापाखाना तथा प्रकाशन सम्बन्धी ऐन, २०४८ मा संशोधन गरी अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरण स्थानीय प्रशासनमा गर्ने व्यवस्था भएपछि हाल देशभर उक्त प्रक्रिया अवरुद्ध बनेको छ ।
यसले नयाँ अनलाइन सञ्चारमाध्यम सुरु गर्ने तथा सञ्चालनमा रहेका संस्थाले नवीकरण गर्ने कार्य ठप्प भएको छ ।