काठमाडौं । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहनुका साथै बङ्गालको खाडीबाट मनसुनी हावाको प्रभाव पनि बढेको छ ।
जसको प्रभावले आज दिउँसो वाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भागमा साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली हुनेछ ।
वाग्मती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिम र कर्णाली प्रदेशको पहाडी भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान पूर्वानुमान महाशाखाले जनाएको छ ।
त्यसैगरी, आज राति देशभर साधारणतया बदली हुनेछ । देशका पहाडी भागका धेरै स्थानमा मध्यम वर्षा हुनेछ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी क्षेत्रका साथै लुम्बिनी र कोशी प्रदेशका तराई भगका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
महाशाखाले वर्षाका पहिरो तथा गेग्रान बहावको जोखिम रहेको, ठूला तथा साना नदीनाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने तथा यातायात क्षेत्र प्रभावित हुनसक्ने प्रक्षेपण गर्दै सबैलाई सतर्क रहन तथा पूर्वतयारी गर्न अनुरोध गरेको छ।