काठमाडौं । नेपाल प्रहरीका एआईजी कृष्णहरी शर्मा पोखरेलले शनिबारदेखि अवकाश पाउने भएका छन् । एआईजीको ५६ वर्षे सेवाहदका कारण उनले अवकाश पाउन लागेका हुन् ।
एआईजी पोखरेल हालका आईजीपी दिपक थापाकै ब्याचका हुन् । प्रहरी प्रधान कार्यालयले पोखरेललाई शुक्रबार साँझ नै बिदाईको तयारी गरेको छ।
आईजीपी थापा लगायतको भने सेवाअवधि थप हुने सम्भावना छ । ३० वर्षे सेवाहद हटाउन उच्च तहमा छलफल भइरहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली १४ गते चीन भ्रमणमा जाने भएकाले त्यसअघि नै सरकारले नै आईजीपीको विषयमा निर्णय गर्न लागेको हो ।
स्रोतका अनुसार कांग्रेस सभापति शेरबहादुर देउवाले वर्तमान आईजीपीलाई नै अघि बढाउन प्रस्ताव अघि बढाइसकेका छन् । जसकारण आज वा भोलि बस्ने मन्त्रिपरिषद् बैठकबाट सेवाहद हटाउनेबारे निर्णय हुनेछ ।
तर, विगतको सर्वोच्च अदालतको परमादेश लगायतका कारण समस्या हुन सक्ने भएकाले छलफल भइरहेको छ । ३० वर्षे सेवाहद हटेमा आईजीपी थापासँगै एआईजीद्वय सुदिप गिरी र टेकबहादुर तामाङलाई पनि फाइदा हुनेछ ।
थापापछि दुई महिने आईजीपीका दाबेदारका रुपमा हेरिएका चन्द्रकुबेर खापुङले पनि सकृयता बढाएका छन् ।