काठमाडौं । उपत्यकाका विभिन्न स्थानमा अवैध रुपमा जुवा खेलाउँदै आएको गिरोहले काठमाडौं बाहिर पनि आफ्नो साम्राज्य विस्तार गरेको पाइएको छ । नुवाकोट प्रहरीले बुधबार एकैपटक २२ जना जुवाडेहरुलाई पक्राउ गरेसँगै त्यसको रहस्य खुलेको हो ।
नुवाकोट प्रहरीले शिवपुरी गाउँपालिका–५ गुर्जेस्थित बार्दली इन होटलबाट जुवा खेलाउने गिरोहसहित २२ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा ६ जना महिला समेत रहेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटले पक्राउ परेकाहरुको साथबाट १० लाख ७१ हजार ६ सय रुपैयाँ नगद र र ३१ थान कौडा बरामद गरेको छ।
पक्राउ परेका २२ जनामाथि जिल्ला प्रशासन कार्यालय नुवाकोटबाट जुवा सम्बन्धी कसुरमा ७ दिन म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेका व्यक्तिहरूमध्ये जुवा खेलाउने नुवाकोटका सुजन तामाङ र बुटवलका ‘कमल बुकी’ भनेर चिनिने कमल ज्ञवाली पनि रहेका छन्।
प्रहरीका अनुसार उनीहरूले विगतदेखि काठमाडौंमा जुवा खेलाउँदै आएका थिए । काठमाडौं प्रहरीले जुवामा कडाइ गरेपछि उनीहरु कामठाडौंको सीमा क्षेत्र धादिङ र नुवाकोटतिर पुगेको प्रहरीको बुझाई छ ।
ज्ञवाली पूर्वप्रहरी समेत हुन् । उनी जागिर छाडेर जुवा व्यवसायमा लागेको प्रहरी स्रोतको दावी छ ।
पक्राउ परेका गिरोहका सदस्यहरूले काठमाडौंको टोखा क्षेत्रमा समेत प्रविधिको प्रयोग गरी योजनाबद्ध तरिकाले जुवा खेलाउँदै आएको प्रहरी अनुसन्धानमा खुलेको छ ।
उनीहरूको अत्याधुनिक डिभाइस प्रयोग गरी खेल नियन्त्रणमा लिने र मिटरब्याजमा जुवाडेहरुलाई रकम लगानी गर्नेदेखि लुटपाटसम्मको काम गर्दै आएको प्रहरी नै बताउँछ ।
स्रोतका अनुसार ज्ञवालीले जुवा खेलाएकै भरमा ५० करोड भन्दा बढी सम्पत्ति जोडिसकेका छन् ।
काठमाडौंमा ज्ञवालीको ग्याङमा राजेश श्रेष्ठ, दिप लामा, राजकुमार अधिकारी 'खरानी' रहेका छन् । उनीहरूलाई काठमाडौं प्रहरीका इन्सपेक्टर वाङ्गेल लामाले संरक्षण गर्दै आएका छन् । राजेश श्रेष्ठले बौद्ध र साँखुमा जुवा खेलाउँदै आएका छन् ।
श्रेष्ठले जुवा खेलाउँदा जुवाडेहरुलाई मिटरब्याजमा पैसा लगानी गर्ने र उतिबेलै चेक काट्न लगाएर चेक नसाटिएपछि प्रहरीलाई नै प्रयोग गरेर रकम उठाउँदै आएका छन् ।