सर्लाही । सर्लाहीमा प्रहरीले ठूलो परिमाणको लागुऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ ।
जिल्लाको लालबन्दी नगरपालिका–८, खतिवडा चोक क्षेत्रमा लागुऔषध ओसारपोसार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लालबन्दीबाट प्रहरी निरीक्षक वीरेन्द्र सिंह जोहारीको कमाण्डमा खटिएको टोलीले ठूलो परिमाणमा गाँजा बरामद गरेको हो ।
प्रहरीका अनुसार पत्थरकोटबाट लालबन्दीतर्फ आउँदै गरेको बा.प्र. ०२–०४२ प ४०५३ नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोक्न खोज्दा त्यसमा सवार दुई जना व्यक्तिले मोटरसाइकल र झोला फालेर भाग्ने प्रयास गरेका थिए ।
सो क्रममा प्रहरी टोलीले पिछा गर्दा मोटरसाइकल चालक सन्ते ब्लोनलाई नियन्त्रणमा लिन सफल भएको हो । अर्का एक जना भने फरार रहेका छन्, जसको खोजी कार्य जारी छ ।
इप्रका लालबन्दीका प्रमुख जोहारीका अनुसार बरामद गरिएको दुई वटा झोलामा रातो प्लास्टिकले बेरेका ५ वटा पोका भेटिएको छ । तीमध्ये एक पोका करिब ५ किलो र बाँकी ४ वटा पोका करिब ५र५ किलो गरी जम्मा २७ किलो गाँजा रहेको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको छ ।
बरामद गाँजा, मोटरसाइकल र नियन्त्रणमा लिइएको युवकलाई आवश्यक कारबाही तथा थप अनुसन्धानका लागि ईलाका प्रहरी कार्यालय लालबन्दीमा राखिएको प्रहरीले जनाएको छ ।