Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

गौरा पर्वको तेस्रो दिन : आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै

गौरा पर्वको तेस्रो दिन : आज गौरादेवीलाई घरघरमा भित्र्याइँदै

शनिवार , भाद्र १४, २०८२

बैतडी । सुदूरपश्चिमको मुख्य पर्व गौराको आज तेस्रो दिन व्रतालु महिलाहरूले गौरादेवीलाई गौराघरमा भित्र्याउँदै छन् । स्थानीय भाषामा भित्री गौरा अर्थात् ‘ठुली गौरा’ भनिने यो दिनलाई व्रतालु महिलाहरूले विशेष दिनको रूपमा लिन्छन् ।

‘व्रतालु महिलाहरूले बिहान नुहाइधोइ गरेर साँझ गौरालाई गौराघरमा भित्र्याउने चलन छ । आज अमुक्ताभरण सप्तमी भएकाले व्रतालु महिलाहरू एक ठाउँमा जम्मा भएर फाग गाएर गौरादेवीको पूजा गर्छन् ।

‘ठुली गौरा’ को दिन आज गौरा र महेश्वरको प्रतिमूर्ति स्थापना गरेर व्रतालु महिलाहरूले फलफूल र बिरुडाले गौरादेवीको पूजा गर्छन्। व्रतालु महिलाहरूले लगाउने विशेष धागो अर्थात् दुबधागो पनि आजै गौरादेवीमा चढाउने चलन छ।

साउ, अपामार्ग, तीललगायत वनस्पतिबाट गौराको प्रतिमूर्ति बनाइ पूजाआजा गर्ने चलन छ। खेतबारीबाट साउ, अपामार्गलगायत वनस्पतिबाट प्रतिमूर्ति बनाइ आज गौराघरमा गौरा भित्र्याइन्छ। तागाधारी पुरुषहरूले जनै लगाएजस्तै महिलाहरूले गौराको समयमा दुबधागो लगाउने परम्परा छ ।

साँझ व्रतालु महिलाहरूले कुण्ड स्नान गर्छन्। आज गौरादेवीमा चढाएको दुबधागोलाई भोलि दुर्वाष्टमी अर्थात् अठ्यावालीका दिन व्रतालु महिलाहरूले लगाउँछन्। नयाँ दुबधागो आज गौरादेवीमा चढाउने र भोलि अठ्यावाली सकिएपछि लगाउने परम्परा छ।

गौरापर्वको मुख्य दिन सप्तमीमा गौरा र महेश्वरको पूजा गरी व्रतालु महिलाहरूले राति मिठो खाना खाने चलन छ । मौलिक पर्वको रूपमा रहेको गौराको मुख्य दिन भोलि गौराष्टमी अर्थात् अठ्यावालीमा महिलाहरूले गौरालाई गौराघरबाट गौराखलामा लगेर पूजा गर्छन्।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077