काठमाडौं । सरकारले इम्बोस्ड नम्बर प्लेट अनिवार्य गरेसँगै अहिले विभिन्न ९ वटा कार्यालयबाट यसको जडान भइरहेको यातायात व्यवस्था विभागले जनाएको छ।
विभागका अनुसार बागमती प्रदेशमा यातायात व्यवस्था कार्यालय एकान्तकुना ललितपुर, यातायात व्यवस्था सेवा कार्यालय हेटौंडा मकवानपुर, यातायात व्यवस्था कार्यालय गुर्जुधारा र सवारी परीक्षण कार्यालय टेकुबाट इम्बोस्ड नम्बर जडान भइरहेको छ।
गण्डकी प्रदेशमा कास्की पोखरामा, लुम्बिनी प्रदेशमा रुपन्देही बुटवल, दाङ तुल्सीपुर र नेपालगञ्ज बाँकेमा, कर्णाली प्रदेशमा सुर्खेतमा जडान सुरु भएको छ।
विभागका अनुसार १ असोजदेखि थप ७ कार्यालयबाट इम्बोस्ड नम्बर जडान थालिनेछ। सुदूरपश्चिममा धनगढी र कञ्चनपुर, मधेशमा लहान सिरहा, बागमतीमा चितवन, कोशी प्रदेशमा सुनसरी इटहरी र झापा बिर्तामोडमा १ असोजदेखि जडान सुरु हुनेछ।
संघ र प्रदेशका मन्त्रीस्तरीय विषयगत समिति बैठकले १ असोजदेखि सवारीसाधन दर्ता, नामसारी वा नवीकरणमा इम्बोस्ड नम्बर अनिवार्य गर्ने निर्णय गरेको छ।
एकातिर चौतर्फी रुपमा इम्बोस्ड नम्बरको विरोध भइरहनु र अर्कोतिर विरोधका बावजुद महंगो रकम तिरेर पनि इम्बोस्ड नम्बर जडान गर्न सर्वसाधरणले सास्ती भोगिरहनु परेका कारण सरकारमाथि दबाब परेको थियो । जस कारणले गर्दा सरकारले बढी भन्दा बढी स्थानबाट इम्बोस्ड नम्बर जडान गर्ने तयारी गरिरहेको छ ।