Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

सयौँ नेपालीको मिर्गौला भारतमा गायब, बेच्न गएकै व्यक्ति तस्करी गिरोहको नाइके !

सयौँ नेपालीको मिर्गौला भारतमा गायब, बेच्न गएकै व्यक्ति तस्करी गिरोहको नाइके !

आइतवार , भाद्र १५, २०८२

काठमाडौं । एक सयभन्दा बढी व्यक्तिको मिर्गौला बेचबिखनमा संलग्न अन्तर्राष्ट्रिय गिरोहका नाइके पक्राउ परेका छन् ।

मानव बेचबिखन अनुसन्धान ब्युरोले सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका–७ घर भई हाल नयाँदिल्ली बस्दै आएका ३८ वर्षीय श्यामकृष्ण भण्डारीलाई पक्राउ गरेको हो ।

ब्युरोका प्रमुख एसएसपी कृष्ण पंगेनीका अनुसार भण्डारीले नेपालीलाई विभिन्न प्रलोभन देखाएर भारत पुर्‍याई मिर्गौला बेच्ने गिरोह सञ्चालन गर्दै आएका थिए।

उनी विगत तीन वर्षदेखि भारतीय आधारकार्ड बनाएर दिल्लीमै बसेर अवैध कारोबार गरिरहेको खुलेको छ । भण्डारी आफ्नै किड्नी बेच्न भनेर भारत गएका थिए । त्यसपछि ण्डारी आफैं किड्नी तस्करीको धन्दामा सक्रिय भएको बताइएको छ ।

“सोधपुछमा उनले २५ जनाको मिर्गौला झिक्न लगाई पैसा लिएको स्वीकार गरेका छन्। तर, हाम्रो सूचनाअनुसार उनीहरूको गिरोहले एक सयभन्दा बढी व्यक्तिको मिर्गौला बिक्री गरिसकेको छ,” एसएसपी पंगेनीले आइतबार पत्रकार सम्मेलनमा बताए ।

नेपालका आर्थिक रूपमा कमजोर नागरिकलाई ६ लाख रुपैयाँ दिने प्रलोभनमा भारत पुर्‍याइन्थ्यो। तर धेरैलाई प्रतिज्ञा गरेको रकमसमेत नदिने गरिएको अनुसन्धानमा खुलेको छ।

यसैक्रममा प्रहरीको टोलीले भण्डारीका सहयोगी, सिन्धुपाल्चोक इन्द्रावती–२ का सुजन भारतीलाई समेत नियन्त्रणमा लिएको छ। गत साउन २० गते पक्राउ परेका राकेश नेपाली, समीर नेपाली र राजकुमार नेपालीलाई सोधपुछ गर्दा गिरोहको जालो फुकाइएको प्रहरीले जनाएको छ।

भण्डारीलाई कञ्चनपुरबाट र भारतीलाई वीरगन्जबाट पक्राउ गरिएको हो । गिरोहविरुद्ध हालसम्म पाँचजनाले प्रहरीमा जाहेरी दिएका छन् ।

भारतमा लगेर मिर्गौला बेच्ने गरेको विषय सार्वजनिक भएपछि ब्युरोले अपरेसन लाइफ सिल्ड नाम दिएर यसको अपरेसन नै चलाएको थियो । मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत उनीहरूलाई मुद्दा चलाइएको छ ।

जहाँ प्रचलित कानुनबमोजिम बाहेक मानिसको कुनै अङ्ग झिक्नेलाई १० वर्ष कैद र दुई लाखदेखि पाँच लाख रुपैयाँसम्म जरिवानाको हुने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077