सुनसरी । सुनसरीस्थित झुम्का कारागारमा फेरि दुई कैदीको ज्यान गएको छ । धरान–१० का २४ वर्षीय सागर राई र गढी गाउँपालिका–६ का ४८ वर्षीय रामदेव उराँवको उपचारको क्रममा मृत्यु भएको हो ।
उराँव कर्तव्य ज्यान मुद्दामा २५ वर्षको कैद सजाय काटिरहेका थिए भने राई लागुऔषध मुद्दामा पुर्पक्षका लागि गत वैशाखदेखि थुनामा रहेका थिए ।
श्वासप्रश्वासमा समस्या देखिएपछि दुवैलाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएको थियो । प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रका अनुसार शनिबार राति समस्या देखिएका उराँवको सोमबार दिउँसो उपचारकै क्रममा मृत्यु भयो भने राईको मंगलबार बिहान निधन भएको हो ।
यसअघि भदौ ४ गते धरान–१२ बस्ने भोजपुर हतुवागढीका २८ वर्षीय विकास राईको बीपी प्रतिष्ठानमै उपचारको क्रममा मृत्यु भएको थियो । यससँगै १३ दिनको अन्तरालमै झुम्का कारागारमा तीन कैदीको मृत्यु भएको छ ।
मृत्यु भएका कैदीहरू पहिले नै दीर्घ रोगी भएको दाबी गर्दै कारागारको व्यवस्थापनकै कारण मृत्यु नभएको दाबी गरिएको छ ।हाल झुम्का कारागारका ‘ए’ र ‘बी’ गरी दुई ब्लकमा १ हजार ७९४ जना कैदी रहेका छन् ।