एजेन्सी । इजरायली सेनाले गाजा सहरको पश्चिमी भागमा रहेको १२ तले मुस्ताहा टावरलाई शुक्रबार हवाई आक्रमण गरी पूर्ण रूपमा ध्वस्त पारेको छ ।
सयौँ विस्थापित नागरिक बसिरहेका उक्त भवनलाई खाली गर्न आदेश दिएपछि दुईपटक गरिएको आक्रमणमा धेरै नागरिक घाइते भएका छन् । घाइतेलाई आपत्कालीन उपचारका लागि अल–शिफा अस्पताल लगिएको छ ।
इजरायलले उक्त भवनलाई हमासको पूर्वाधार तथा योजना निर्माण केन्द्रका रूपमा प्रयोग गरिएको दाबी गरेको छ । तर, मुस्ताहा टावर व्यवस्थापनले सो दाबी अस्वीकार गर्दै भवनमा विस्थापित परिवार मात्र बस्दै आएको प्रतिक्रिया दिएको छ ।
गाजा सहरकै मुटुमा अवस्थित मुस्ताहा टावर त्यहाँका सबैभन्दा ठूलो भवनमध्ये एक हो । यसअघि नै इजरायली सेनाले नागरिकलाई तत्काल खाली गर्न चेतावनी दिएको थियो ।
यससँगै, इजरायली सेनाले साँझ गाजाको अर्को १६ तले आवासीय टावर पनि खाली गर्न आदेश जारी गरेको छ । कम्तीमा ६५ अपार्टमेन्ट रहेको सो भवनमा विभिन्न डिपार्टमेन्ट स्टोर पनि सञ्चालनमा रहेका छन् ।