काठमाडौं । मेडिकल व्यवसायी तथा सामाजिक अभियन्ता दुर्गा प्रसाईँले भ्रष्टाचारविरुद्ध सुरु गरिएको जेनजीको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै आफू पनि यस अभियानमा प्रत्यक्ष सरिक हुने घोषणा गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले ढिलो भए पनि जनतामा चेतना जागेको भन्दै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीप्रति आभार प्रकट गरेका छन्।
'भ्रष्टाचारविरुद्धको यस महाअभियानमा सबै नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई धन्यवाद छ !',प्रसाईँले लेखेका छन्, 'यो देश र नेपाली नागरिक जोगाउने आन्दोलनमा म आफैँ सरिक हुनेछु।'
उनले गत चैत १५ गते सरकारद्वारा गरिएको दमनलाई सम्झँदै, यस्ता आन्दोलनहरूमा शान्तिपूर्ण ढंगले जनताले सहभागिता जनाउन पाउने अधिकार सुनिश्चित गर्न माग गरे। 'गत चैत १५ गतेको जस्तो सरकारले दमन नगरोस्,' उनले चेतावनी स्वरूप भने ।
जनता माझ विवादास्पद रूपमा चिनिए पनि राष्ट्रिय मुद्दामा अभिव्यक्ति दिने प्रसाईँको पछिल्लो घोषणाले जेनजीको आन्दोलन थप सशक्त हुने संकेत देखिएको छ । उनी विगतमा पनि भ्रष्टाचार, बेथिति र राजनीतिक अकर्मण्यताको विरुद्धमा बोल्दै आएका छन्।