काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्रीको राजीनामापछिको राजनीतिक निकास संविधानसम्मत र लोकतान्त्रिक विधिबाट खोजिनुपर्ने स्पष्ट गरेको छ।
महासचिव शंकर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीले संयुक्त विज्ञप्ति जारी गर्दै राष्ट्रपतिलाई संवैधानिक प्रक्रियामार्फत युवा पुस्ताका माग सम्बोधन गर्न आवश्यक पहल गर्न ध्यानाकर्षण गराएका छन् ।
“लोकतान्त्रिक गणतन्त्र र बहुदलीय प्रतिष्पर्धात्मक प्रणालीलाई कमजोर पार्नु हुँदैन। समाधानका हरेक प्रयासले लोकतन्त्रलाई थप सुदृढ गर्नुपर्छ,” विज्ञप्तिमा भनिएको छ।
एमालेले हालैका आन्दोलनका क्रममा प्रहरी गोली प्रहारबाट १९ जनाको मृत्यु र ४ सयभन्दा बढी घाइते भएको घटनाप्रति गहिरो शोक प्रकट गर्दै निष्पक्ष छानबिनको माग गरेको छ। साथै, देशभर भड्किएका आगजनी, तोडफोड, लुटपाट र महत्त्वपूर्ण संरचना ध्वस्त पार्ने गतिविधि कसरी र कसबाट भए भन्नेबारे यथार्थ छानबिन हुनुपर्ने पनि जोड दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “यस क्रममा राज्यका सुरक्षा निकायहरूको भूमिकाको समेत समीक्षा हुनुपर्छ।” पार्टीले सुरक्षा निकायलाई जनताको जिउधनको सुरक्षा र लुटपाट नियन्त्रणमा प्रभावकारी भूमिका खेल्न आह्वान गरेको छ।
यस्तै, पार्टीले आफ्ना कार्यकर्तालाई संयमित, एकताबद्ध र आशावादी भएर संकटको घडीमा शान्ति, सम्पत्ति र जनताको सुरक्षामा सहयोग पुर्याउन आग्रह गरेको छ।