काठमाडौं । देशभरका कारागार र बालसुधारगृहबाट भागेका कैदीबन्दी र बालबन्दीलाई तत्काल सम्पर्कमा आउन कारागार व्यवस्थापन विभागले आग्रह गरेको छ ।
विभागले बिहीबार एक सूचना जारी गर्दै फरार कैदीलाई स्वेच्छाले नफर्किए कानुनी कारबाही गर्ने चेतावनी दिएको हो ।
विभागका निर्देशन चोमेन्द्र न्यौपानले जारी गरेको सूचनामा भनेका छन्, “भागेका कैदीबन्दी वा बालबन्दी कुनै जिल्लामा सम्पर्कमा आएका, पक्राउ परेका वा फेला परेका अवस्थामा तत्काल सम्बन्धित कारागारमा पठाउन नसक्ने देखिएमा त्यहीँको कारागारमा बुझेर राख्नुपर्नेछ।”
उनले स्थिति सामान्य भएपछि सम्बन्धित कारागारसँग समन्वय गरी आवश्यक स्थानान्तरण गर्ने व्यवस्था मिलाइने पनि स्पष्ट पारेका छन् ।
साथै, कारागार कार्यालय नभएका जिल्लाबाट पठाइएका कैदीबन्दीलाई नजिकको कारागार कार्यालयसँग समन्वय गरी राख्न निर्देशन दिइएको छ ।
प्रहरीका अनुसार हालसम्म १२ हजारभन्दा बढी कैदीबन्दी कारागारबाट बाहिरिएका छन् । नख्खु कारागारबाट रास्वपाका सभापति रवि लामिछाने समेत बाहिरिएका थिए । उनलाई पनि प्रहरी सम्पर्कमा आउन आग्रह गरिएको छ ।
त्यस्तै, नेकपा एमालेका निलम्बित सचिव टोप बहादुर रायमाझी र पूर्वगृहसचिव टेक नारायण पाण्डे सुन्धारास्थित केन्द्रीय कारागारबाट भागेका मध्ये रहेका छन् । पाण्डेले भने नजिकै प्रहरी सम्पर्कमा आउने जानकारी गराइसकेको बताइएको छ ।
यसैगरी, चर्चित सुन तस्करी प्रकरणका अभियुक्त चूडामणि उप्रेती ‘गोरे’ पनि केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका छन् । यता, नख्खु कारागारबाट दोस्रो दिन भागेका पूर्व राज्यमन्त्री सञ्जय टकला भने काभ्रेको मंगलटारबाट पक्राउ परेका छन् ।