काठमाडौं । चुनावी सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिमण्डल गठनका लागि छलफल थालेकी छिन्। शनिबार बिहानैदेखि प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिहरु छान्न छलफल चलिरहेको छ।
देशको अवस्थाका आधारमा तत्कालै गृहमन्त्री नियुक्ति गर्नुपर्ने छ। धेरै आकांक्षीहरु उनलाई भेट्न पुगेका छन्।
स्रोतका अनुसार नेपाल प्रहरीका पूर्वआईजीपीदेखि, पूर्वसैनिक अधिकारी, पूर्वसचिव, कानून व्यवसायीहरु यो दौडमा देखिएका छन्।
सुरक्षाको अवस्था चुनौतीपूर्ण भएकाले पूर्वप्रहरीबाटै नियुक्ति हुने सम्भावना रहेको स्रोत बताउँछ । प्रहरीबाहिरको व्यक्तिले अहिलेको सुरक्षा चुनौती हल गर्न कठिन हुने भएकाले पनि पूर्वप्रहरीमध्येबाट चयन हुने सम्भावना छ ।
छरितो मन्त्रिपरिषद् गठन गरेर चुनाव गराउने कार्कीको तयारी छ। गृहमन्त्रीमा पूर्वरथी बालानन्द शर्माको नाम चर्चामा आएको छ भने गृहमन्त्रीमै काठमाडौं महानगरपालिकाका सुरक्षा बल प्रमुख राजुनाथ पाण्डे पनि चर्चामा छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह ‘बालेन’ पनि पाण्डेलाई गृहमन्त्री बनाउन बनाउने पक्षमा रहेको स्रोत बताउँछ । उनी क्षमतावान प्रहरी अधिकारीका रुपमा पनि चिनिन्छन् ।
यद्यपी जेनजीका केही प्रतिनिधिहरुले पूर्वडीआईजी रमेश खरेलसँग पनि वार्ता गरिरहेका छन् । तर, आईजीपी हुन नसकेपछि जागिरबाटै राजिनामा दिएका खरेल दुई पटक चुनाव हारेको र सन्की स्वभावका भएकाले उनको सम्भावना कम देखिन्छ ।
त्यस्तै, अर्थमन्त्रीमा रामेश्वर खनालको नाम आएको छ । जेनजीका प्रतिनिधि समेत समेटेर आइतबार सानो मन्त्रिपरिषद् गठन गर्ने तयारी छ।
त्यस्तै मन्त्रीहरुमा कुलमान घिसिङ, ‘बालेनका कानूनी सल्लाहकार ओमप्रकाश अर्याल, डा. सन्दुक रुइतलगायत चर्चामा छन् ।