काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले अन्तरिम सरकारलाई च्युत गर्ने कुनै पनि प्रयास स्वीकार्य नहुने चेतावनी दिएको छ ।
शनिबार पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जारी गरेको विज्ञप्तिमा सरकारको निरन्तरतामा हस्तक्षेप भए प्रतिरोध हुने स्पष्ट गरिएको छ ।
विज्ञप्तिमा रास्वपाले समग्र राष्ट्रिय हित, एकता र सौहार्द प्रवर्द्धनमा सहयोगी भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाएको छ। साथै अन्तरिम सरकारलाई तोकिएको लक्ष्य पूरा गर्न सबै पक्षले सहयोग गर्नुपर्नेमा जोड दिइएको छ।
“फागुन २१, २०८२ का लागि तोकिएको आम निर्वाचन सफलतापूर्वक सम्पन्न गर्दै शान्तिपूर्ण सत्ता हस्तान्तरण, लोकतान्त्रिक हक–अधिकारको निर्बाध उपभोग, विधिमा आधारित असल शासन, चरम भ्रष्टाचार र दण्डहीनताविरुद्ध कडा कदम, पुनर्निर्माण र आर्थिक सुधार, सुदृढ अन्तर्राष्ट्रिय सम्बन्ध तथा द्रुत विकासको अपेक्षा यस अन्तरिम सरकारसँग गरिएको छ,” विज्ञप्तिमा उल्लेख छ।