धनुषा । जेनजी आन्दोलनका क्रममा फरार भएका ४ विदेशी कैदीसहित १४ जनालाई धनुषा प्रहरीले पक्राउ गरेको छ।
धनुषा प्रहरीका अनुसार केन्द्रीय कारागार काठमाडौंबाट फरार भएका ३ नाइजेरियन र १ ब्राजिलियन नागरिकलाई भदौ २७ गते नेपाल–भारत सीमा नाकाबाट पक्राउ गरिएको हो ।
पक्राउ पर्ने विदेशी कैदीहरूमा ३८ वर्षीय मो. लामिन्स डाबो, ३५ वर्षीय ग्लोरी बडे, ५५ वर्षीय ईमानुअल ओवुडा उजेईग्बे (नाइजेरियन) र २५ वर्षीय लारेशन ब्रिटो (ब्राजिलियन) रहेका छन् । लागुऔषध कारोबार मुद्दामा सजाय पाएका उनीहरू जेनजी आन्दोलनको अवसरमा मंगलबार केन्द्रीय कारागारबाट फरार भएका थिए। भारतमार्ग हुँदै आफ्नै देश फर्किने प्रयासका क्रममा उनीहरूलाई धनुषाको बिदेह नगरपालिका–मैनाथपुर र सबैला नजिकैबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ।
यसैगरी, धनुषा प्रहरीले सिन्धुली तथा महोत्तरीको जलेश्वर कारागारबाट फरार भएका थप १० नेपाली कैदीलाई पनि नियन्त्रणमा लिएको छ ।