जनकपुरधाम । जेनजी आन्दोलनको क्रममा मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड र आगजनी गरेको आरोपमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
५०/६० जनाको समूहले २४ भदौ बेलुकी जनकपुरधाम उपमहानगरपालिका-९ स्थित मधेश प्रदेश लोकसेवा आयोगको कार्यालयमा तोडफोड र आगजनी गरेका थिए ।
पक्राउ पर्नेमा जनकपुरधाम-९ बस्ने ३७ वर्षीय मनिषकुमार अधिकारी र २१ वर्षीय सन्तोषकुमार यादव रहेका छन् ।
यस्तै उनीहरूको साथबाट लुटिएको हतियार समेत बरामद भएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी बरुणबहादुर सिंहले बताएका छन् ।
चारपाङ्ग्रे गाडी ४ वटा, मोटरसाइकल ४ वटा, सीसीटीभी क्यामेरा तथा अन्य भौतिक संरचना तोडफोड गर्दै सुरक्षार्थ खटिएको नेपाल प्रहरीकै एसएलआर राइफल १ थान र त्यसमा प्रयोग हुने ५० राउन्ड गोली समेत लुटपाट भएको थियो ।
उनीहरूको साथबाट दुई दिन अघि प्रहरीबाट खोसिएको थ्रिनट थ्री राइफल बरामद गरिएको छ ।