काठमाडौं । जेनजी आन्दोलनका क्रममा संसद भवनभित्र पसेर राष्ट्रिय झण्डा फहराउँदै भिडियो बनाउने टिकटकर मनोज केसी गुण्डागर्दीमा संलग्न भएको खुलेको छ । उनले बनाएको भिडियोपछि उनका कर्तुतहरु विस्तारै बाहिर आएका हुन् ।
यसअघि टिकटकमा भाइरल हुँदा समेत उनको बारेमा सत्यतथ्य बाहिर आएको थिएन । तर, संसद भवनभित्र प्रवेश गरेको भिडियो पछि उनका अपराधका फेहरिस्त बाहिर आएका हुन् ।
टिकटकर केसीलाई गुण्डागर्दी र मिटरब्याजको गरी ७ आपराधिक रेकर्ड फेला परेको प्रहरीको भनाई छ। उनी कुनै बेला गुण्डा नाइके दिनेश अधिकारी ‘चरी’का सहयोगी रहेका पनि खुलेको छ।
दिनेश अधिकारी चरीको सहयोगीको रूपमा काम गरेका उनीमाथि काठमाडौंमा नौ वटा र ललितपुरका एउटा आपराधिक घटनामा संलग्न रहेको रेकर्ड फेला परेको छ।
उनलाई सार्वजनिक अपराधको आरोपमा जिल्ला प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको समेत पाइएको छ । उनमाथि ज्यान मार्ने उद्योग, कुटपिट गरेर अंगभंग गराएको, लागूऔषध र जुवाजस्ता आपराधिक रेकर्ड छन्।
उनीमाथि तीनकुनेमा काभ्रेका युवराज लामामाथि खुकुरी प्रहार गरेको घटनामा ज्यान मार्ने उद्योगको अभियोग लागेको थियो। पेप्सीकोलामा उज्ज्वल ढुंगानामाथि खुकुरी प्रहार, ठमेलको डिस्कोमा जोन लामालाई कुटेर आँखा फुटाएको आरोप समेत उनीमाथि लागेको थियो ।
यद्यपी केसीका यी सबै आपराधिक रेकर्डहरु २०७३ जेठ १९ अघिका मात्र हुन् । त्यसपछि प्रहरीमा कुनै पनि आपराधिक रेकर्ड भेटिएको छैन । टिकटकर केसीले आफू संसद भवनभित्र प्रवेश गरेको भएपनि कुनै आपराधिक क्रियाकलाप नगरेको दावी गर्दै आएका छन् ।