पोखरा । जेनजी आन्दोलनको क्रममा प्रहरी उपरीक्षक (एसपी) को बर्दी दुरुपयोग गर्ने एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख एसपी श्यामबाबु ओलियाको बर्दी दुरुपयोग गर्ने व्यक्ति पक्राउ परेका हुन् ।
पक्राउ परेका व्यक्तिको परिचय भने अहिलेसम्म सार्वजनिक गरिएको छैन । केही दिनअघि पक्राउ परेका ती व्यक्तिविरुद्ध जिल्ला अदालतबाट मुद्दा दर्ता गरिएको र सोमबार अदालत खुलेसँगै म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
गत भदौ २४ गते साँझ आन्दोलनकारीले डोजरसहित जिल्ला प्रहरी कार्यालयमा आक्रमण गर्दै आगजनी गरेका थिए ।
आगजनीका कारण हिरासतमा रहेका १२५ थुनुवा फरार भएका थिए, जसमा ६१ जना जिल्ला प्रहरी कार्यालयकै थुनुवा कक्षबाट भागेका थिए ।
त्यही क्रममा पक्राउ परेका व्यक्तिले एसपी ओलियाको पोशाक निकालेर लगाएको खुलेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।