Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

धनगढीमा फार्मासिष्ट दिवस मनाइयो, स्वास्थ्य क्षेत्रमा योगदानबारे अन्तरक्रिया

धनगढीमा फार्मासिष्ट दिवस मनाइयो, स्वास्थ्य क्षेत्रमा योगदानबारे अन्तरक्रिया

बिहिवार , आश्विन ९, २०८२

धनगढी । विश्व फार्मासिष्ट दिवस आज धनगढीमा विभिन्न कार्यक्रमका साथ मनाइएको छ । नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेश र कैलाली जिल्ला समितिको संयुक्त आयोजनामा बिहीबार कार्यक्रम सम्पन्न गरिएको हो ।

दिवसको अवसरमा बिहान धनगढीको जेनजी मार्गबाट सेती प्रादेशिक अस्पताल हुँदै देव तालिम केन्द्रसम्म र्याली निकालिएको थियो । र्यालीपश्चात् देव तालिम केन्द्रमा आयोजित अन्तरक्रिया कार्यक्रममा “फार्मेसी पेशा: अवसर, चुनौती र सम्भावना” विषयमा छलफल भएको थियो ।

अन्तरक्रियामा वरिष्ठ मुटु रोग विशेषज्ञ डा. चित्रराज शर्मा, स्नायु–मनोचिकित्सक डा. रामप्रसाद लामिछाने, स्वास्थ्य कार्यालय कैलालीका प्रमुख रमेश कुँवर, सुदूरपश्चिम विश्वविद्यालय स्वास्थ्य विज्ञान संकाय डडेल्धुराका उपप्राध्यापक एवं औषधि विज्ञ फार्मासिष्ट दिपेश जोशी, नेपाल फार्मेसी संघका पूर्व केन्द्रीय सचिव तथा क्लिनिकल फार्मासिष्ट रामबहादुर धामी, टीकापुर अस्पतालका फार्मेसी विभाग प्रमुख जनक शाहीलगायतको उपस्थिति रहेको थियो ।

यसअघि बुधबार सम्पन्न निःशुल्क विशेषज्ञ स्वास्थ्य शिविर तथा औषधि परामर्श कार्यक्रममा सेवा प्रदान गरेका वरिष्ठ चिकित्सकहरूलाई आज सम्मान गरिएको थियो ।

सम्मानित चिकित्सकमध्ये वरिष्ठ जनरल ल्याप्रोस्कोपी सर्जन डा. चन्द्रप्रकाश पाण्डेय, वरिष्ठ छाला, यौन तथा कपाल रोग विशेषज्ञ डा. शम्भुदत्त जोशी, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. शिवराज पनेरू र वरिष्ठ नाक, कान तथा घाँटी रोग विशेषज्ञ डा. सन्तोष डीसी रहेका छन् ।

कार्यक्रममा प्रशिक्षक दिनेश पन्तले औषधिको उचित प्रयोग र वैज्ञानिक व्यवस्थापनमा फार्मासिष्टको भूमिकाबारे प्रष्ट पारे भने नेपाल फार्मेसी संघ सुदूरपश्चिम प्रदेशका सल्लाहकार महेश अर्यालले औषधिको सही प्रयोगमा फार्मासिष्टको महत्वबारे धारणा राखे ।

“स्वास्थ्य सोचौं, फार्मासिष्ट सम्झौं” भन्ने नारासहित मनाइएको कार्यक्रममा नेपाल फार्मेसी संघ कैलालीका अध्यक्ष आनन्द सिंह भाटको अध्यक्षता रहेको थियो ।

संघका केन्द्रीय सचिव नबिन धामी प्रमुख आतिथ्य, केन्द्रीय सदस्य दिनेश जोशी विशेष आतिथ्य र विभिन्न अस्पतालका फार्मेसी विभाग प्रमुख तथा स्वास्थ्यकर्मीहरूको उपस्थिति रहेको थियो ।

कार्यक्रमको सञ्चालन नेपाल फार्मेसी संघ कैलालीका महासचिव सुवास अधिकारिले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077