काठमाडौं । काठमाडौं महानगरपालिकाले ट्राफिक व्यवस्थापनका लागि दुई हजार ५०० ट्राफिक कोन र एक हजार २५० रिट्र्याक्टेबल बार सडकमा राख्न शुरू गरेको छ ।
सडक च्यानलाइजेसनमार्फत् दुर्घटना र जाम न्यूनीकरण गर्ने लक्ष्य, ट्राफिक व्यवस्थापनमा महानगर, ट्राफिक प्रहरी र सरोकारवालाबीच सहकार्यमा कामपाले उक्त कार्य शुरू गरेको जानकारी दिएको छ ।
कामपा सहरी योजना आयोगका सहायक विज्ञ अनुकुल निधिका अनुसार आर्थिक वर्ष २०८०/८१ मा नै यी सामग्री खरिद गर्ने योजना भए तापनि विभिन्न प्रक्रियागत चुनौतीका कारण २०८१र८२ मा खरिद गरिएको हो । जसले ट्राफिक व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका खेल्ने अपेक्षा कामपाको रहेको छ ।
विज्ञ निधिका अनुसार ट्राफिक कोनको उचाइ ९०० देखि १,००० मिलिमिटरसम्मको छ । पहिले पहिले सडकमा राखिने कोनभन्दा अहिलेको कोनको आकार ठूलो भएकाले सवारी चालकहरूलाई अनुशासित बनाउने अपेक्षा गरिएको छ ।