काठमाडौं । अर्थ मन्त्रालयले १५ सय अमेरिकी डलरभन्दा बढी विदेशी मुद्रा नगदमा नराख्न आग्रह गरेको छ । गएराति सुचना निकालेर अर्थ मन्त्रालयले विदेशी मुद्रा १५ सय डलरभन्दा बढी नराख्न भनेको हो ।
विदेश भ्रमणबाट फर्किँदा बचत भएको वा वैध स्रोतबाट प्राप्त विदेशी मुद्रा अधिकतम १५ सय डलर वा त्यस बराबरको परिवत्र्य विदेशी मुद्रा मात्र नगदमा राख्न पाउने सूचनामा उल्लेख छ ।
यसैगरी नेपाल आउने नेपाली वा विदेशी नागरिकले आफूसँग ५ हजार अमेरिकी डलरभन्दा बढी रकम ल्याएका छन् भने भन्सारमा घोषणा गर्न अर्थ मन्त्रालयले भनेको छ । ५ हजार डलर वा त्यस बराबरको रकम भने भन्सारमा घोषणा नगरी नेपाल भित्र्याउन पाइनेछ ।
साथै स्रोत खुलेको रकम भएमा नगदमै आफ्नो अनुकूल ठाउँमा सुरक्षित राख्न र उपयोग गर्न कुनै बाधा व्यवधान नरहेको तर स्रोत नखुलेको रकमका सम्बन्धमा सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ बमोजिम अनुसन्धान हुने अर्थ मन्त्रालयले चेतावनी दिएको छ ।