काठमाडौं । भाइरल झाँक्री प्रकाश भुजेलले एक म्यानपावर व्यवसायीलाई अपहरण गरी कुटपिट गरेको आरोपपछि व्यवसायी पक्षधरहरूले उनको कार्यालयमा तोडफोड गरेका छन् ।
प्रहरी वृत्त गोकर्णका अनुसार नारायणटारस्थित झाँक्री तथा तान्त्रिक संघको कार्यालयमा शुक्रबार राति तोडफोड गरिएको हो । उक्त संघका अध्यक्ष भुजेलमाथि गल्फ म्यानेजमेन्ट प्रालिका सञ्चालकलाई अपहरण गरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नजिक लगेर कुटपिट गरेको आरोप लागेको छ ।
घटनापछि आक्रोशित व्यवसायी पक्षका समूहहरू राति नै नारायणटार पुगेका थिए । प्रहरीका अनुसार कार्यालय घेराउ हुनासाथ भुजेल भागेर काँडाघारीतर्फ गएको बताइएको छ। त्यसपछि आक्रोशित समूहले कार्यालयमा तोडफोड गरेका हुन् ।
यसैबीच, व्यवसायी पक्षले भुजेल काँडाघारीमा लुकेको भन्दै त्यहाँको प्रहरी प्रभागलाई समेत घेराउ गरेको छ। उनीहरू भुजेललाई तत्काल सार्वजनिक गर्नुपर्ने माग गर्दै उग्र बनेका छन्।
प्रहरीका अनुसार अहिले घटनास्थलमा थप विवाद नबढोस् भनेर सुरक्षा व्यवस्थालाई कडा बनाइएको छ ।