काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले बेलायती गोर्खा सैनिक तथा भूतपूर्व सैनिकका बाँकी रहेका समस्या न्यायोचित ढंगले समाधान गर्न बेलायत सरकारसँग आग्रह गरेका छन् ।
सोमबार बेलायतका रक्षा सचिव जोन हिली तथा भेटरान्स तथा पिपुल्ससम्बन्धी रक्षा राज्यमन्त्री लुइस सान्धर जोन्सका तर्फबाट आयोजित भर्चुअल बैठकमा मन्त्री खनालले गोर्खा सैनिकहरूले नेपाल–बेलायत सम्बन्धलाई बलियो बनाउन पुर्याएको ऐतिहासिक योगदानको स्मरण गर्दै उनीहरूका न्यायोचित मागलाई शीघ्र सम्बोधन गर्नुपर्ने आवश्यकता औँल्याए ।
बैठकमा उनले न्याय, निष्पक्षता र सम्मानको सिद्धान्तका आधारमा बेलायत सरकारले गोर्खा सैनिकसँग सम्बन्धित बाँकी मुद्दाहरूको पारस्परिक रूपमा स्वीकार्य समाधान खोज्नुपर्नेमा जोड दिए। उनका अनुसार गोर्खा सैनिकको योगदान केवल सैन्य क्षेत्रमा सीमित नभई दुई देशबीचको मित्रता र विश्वासको महत्वपूर्ण आधारसमेत बनेको छ।
बेलायती पक्षका तर्फबाट सहभागी राज्यमन्त्रीले गोर्खा भूतपूर्व सैनिकका समस्या समाधानका लागि नेपाली पक्षसँग घनिष्ठ सहकार्य गर्न बेलायत सरकार प्रतिबद्ध रहेको बताइन्। उनले सम्बन्धित विषयमा संवाद र सहकार्यलाई निरन्तरता दिइने विश्वाससमेत व्यक्त गरिन्।
बैठकमा नेपालका तर्फबाट अमृतबहादुर राई सहित परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरूको सहभागिता रहेको थियो। बेलायती पक्षबाट सांसद एलेक्स बेकर, नेपालसम्बन्धी सर्वदलीय संसदीय समूह ९एपीपीजी० का प्रतिनिधि तथा बेलायतको रक्षा मन्त्रालयका वरिष्ठ अधिकारीहरू सहभागी थिए। साथै, बेलायतस्थित विभिन्न गोर्खा संगठनका प्रतिनिधिहरू पनि बैठकमा उपस्थित थिए।
यसअघि सोमबार नै मन्त्री खनालले बेलायतमा रहेका बेलायती गोर्खा भूतपूर्व सैनिकका प्रतिनिधिहरूसँग छुट्टै भर्चुअल अन्तरक्रिया गरेका थिए। उक्त कार्यक्रमको समन्वय विपिन दुवाडी ले गरेका थिए।