काठमाडौं । नेपालका प्रमुख वामपन्थी शक्तिहरूबीच ऐतिहासिक राजनीतिक एकताको दिशामा ठोस प्रगति भएको छ।
नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहित आठ वाम दलले पार्टी एकतासम्बन्धी १८ बुँदे सहमति पत्रमा हस्ताक्षर गरेका छन्।
शनिबार काठमाडौंमा बसेको संयुक्त बैठकपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई, जनता समाजवादी पार्टीका नेता उपेन्द्र यादवसहित अन्य दलका शीर्ष नेताहरूले सहमति पत्रमा हस्ताक्षर गरेका हुन्।
सहमति पत्रमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षा, राष्ट्रिय स्वाधीनताको सुदृढीकरण, सुशासनको प्रवर्द्धन, सामाजिक न्याय, आर्थिक समानता र समाजवादी रूपान्तरणका लक्ष्यहरूलाई संयुक्त रूपमा अघि बढाउने उल्लेख गरिएको छ।
सहमति अनुसार नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनता समाजवादी पार्टी (नेपाल), नेपाल कम्युनिष्ट पार्टी, नेकपा (माओवादी समाजवादी) र नेकपा (साम्यवादी)बीच पार्टी एकता कात्तिक १९ गते औपचारिक रूपमा हुने छ।
नेताहरूका अनुसार, एकता केवल राजनीतिक सहकार्यमा सीमित नभई दीर्घकालीन वैचारिक र संगठनात्मक एकीकरणतर्फको ठोस कदम हो। उनीहरूले यो एकता समाजवादी क्रान्तिको यात्रामा नयाँ युगको सुरुवात हुने दाबी गरेका छन्।
बैठकपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले भने, “यो सहमति वामपन्थी आन्दोलनलाई एकीकृत समाजवादी दिशातर्फ लैजाने ऐतिहासिक मोड हो। देशको राजनीतिक स्थायित्व र आर्थिक रूपान्तरणका लागि अब वाम शक्तिहरू एकीकृत भएर अघि बढ्नेछन्।”
त्यसैगरी, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले भने, “हामी वैचारिक एकता, संगठनात्मक सहकार्य र जनताको आशा–आकांक्षालाई मूर्त रूप दिने साझा अभियानमा अघि बढिरहेका छौं। कात्तिक १९ गते नयाँ अध्याय सुरु हुनेछ।”