Jun 19 2026 | २०८३, आषाढ ५ गते

19 Jun 2026 | शुक्रवार, आषाढ ५ गते २०८३

शुक्रवार, आषाढ ५ गते २०८३
images
images

प्रधानमन्त्रीको जेनजीलाई आह्वान - दल बनाएर लोकतान्त्रिक प्रक्रियामा आउनुस्

प्रधानमन्त्रीको जेनजीलाई आह्वान - दल बनाएर लोकतान्त्रिक प्रक्रियामा आउनुस्

आइतवार , कार्तिक १६, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनका अगुवाहरुलाई सडकबाट संस्थागत राजनीतितर्फ उन्मुख हुन आग्रह गरेकी छन्।

आइतबार बालुवाटारमा सातै प्रदेशका मुख्यमन्त्रीहरूसँगको बैठकमा उनले स्वतन्त्रता, सुशासन र परिवर्तनका एजेन्डा बोकेर सडकमा उत्रिएका युवाहरुलाई अब लोकतान्त्रिक प्रक्रियामार्फत जनताबाट अनुमोदन गराउन सुझाव दिइन्।

प्रधानमन्त्री कार्कीले हालका जेनजीहरू विभिन्न रूप र मागसहित देखा परे पनि उनीहरू देशप्रति जिम्मेवार बन्नसक्ने सम्भावना प्रष्ट देखिएको बताइन्।

उनले भनिन्, ‘कतिपय जेनजीहरू यहाँ आएर ठूला कुरा गर्छन्, कतिपय बाहिर गएर मनोमानी बोल्छन्। जेसुकै भए पनि ती सबै हाम्रा छोराछोरी हुन् — सिक्दै छन्, बुझ्दै छन्। कतिपय त हामीभन्दा बढी परिपक्व कुरा गर्छन्।’

उनले स्थायित्वका लागि निर्वाचित सरकार र राजनीतिक दल अपरिहार्य रहेको उल्लेख गर्दै थपिन्, ‘राजनीतिक दल र निर्वाचन एकअर्काका परिपूरक हुन्। दल नभई यो लोकतान्त्रिक व्यवस्था चल्दैन। अहिले स्वतन्त्र विज्ञहरू समेत आफ्नो पार्टी खोलेर चुनावमा आउँदै छन्। त्यसैले जेनजीहरूलाई पनि म भन्छु — आफ्ना एजेन्डा जनतामाझ लिएर आउनुस्, पार्टी खोलेर निर्वाचनमा सहभागी होऊ।’

प्रधानमन्त्री कार्कीले मुलुकका समस्याहरू समाधान गर्न सबै पक्षको सामूहिक प्रयास आवश्यक रहेको औंल्याइन्। ‘हामीले नसुधारे कसैले सुधारिदिँदैन,’ उनले भनिन्, ‘कतिपय कुरा लेख्दा वा बोल्दा तलमाथि हुन सक्छ, तर हाम्रो नियत खराब छैन। संविधानले दिएका सीमाभित्र रहेर, आपसी सहकार्य र सहअस्तित्वका साथ अघि बढ्नुपर्छ।’

उनले निर्वाचनको तयारीलाई सरकारको मुख्य प्राथमिकता रहेको दोहोर्‍याउँदै भनिन्, ‘चुनाव नै राजनीतिक स्थायित्व र जनताको भरोसाको माध्यम हो। त्यसैले सरकार निर्वाचनको वातावरण निर्माणमा पूर्ण रूपले प्रतिबद्ध छ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077