काठमाडौं। नेकपा एमालेको ११ औं महाधिवेशनको दोस्रो दिन भृकुटीमण्डपमा आज बन्दसत्र शुरु हुँदैछ । उच्च सुरक्षा व्यवस्थासहित शुरू गर्न लागिएको बन्दशत्र निर्धारित समयभन्दा केही ढिलो हुने भएको छ । उपमहासचिव प्रदीप ज्ञवालीका अनुसार केही प्राविधिक तयारी भइरहेका कारण ८ बजे शुरू हुने पूर्व तालिकामा सामान्य ढिलाई हुन लागेको हो ।
महाधिवेशनमा २ हजार २ सय ६२ जना प्रतिनिधि छन् । महाधिवेशनले अध्यक्ष, महासचिव एक, तीन उपाध्यक्ष, तीन उपमहासचिव र सात सचिवसहित २ सय ५१ सदस्यीय केन्द्रीय कमिटी चयन गर्ने तालिका छ ।
महाधिवेशनमा सबै पदाधिकारी समेटिएको अध्यक्षमण्डल गठनसँगै महाधिवेशन प्रस्ताव लेखन तथा माइन्युट लेखन समितिको जिम्मेवारी उपमहासचिवद्वय प्रदीप ज्ञवाली र पृथ्वीसुब्बा गुरुङलाई दिइएको छ ।
महाधिवेशनमा सहमति जुट्न नसके मतदान प्रक्रियाबाट नेतृत्व चयनका लागि विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने एमालेको तयारी छ ।
यसैबीच, बन्दशत्रस्थलको सुरक्षाका निम्ति नेपाल प्रहरीले २ सय भन्दा बढी जनशक्ति परिचालन गरेको छ । एमालेले सोही प्रयोजनका लागि अलग्गै स्वयंसेवक दस्ता निर्माण गरेको छ ।
सुरक्षालाई दृष्टिगत गर्दै भृकुटीमण्डप चौरको चारै दिशालाई सर्वसाधारणको आवतजावत निषेध गरिएको छ । भृकुटीमण्डप चौरभित्र महाधिवेशनमा भाग किन पाउने बाहेकका व्यक्तिलाई कडाइका साथ प्रवेश निषेध गरिएको छ ।
महाधिवेशनका कारण सार्वजनिक सडक अवरोध नहुने भएको छ । महाधिवेशनका सहभागीका सवारीसाधन पार्किङका लागि टुडिखेलमा व्यवस्था मिलाइएको उनले बताए ।