Jun 14 2026 | २०८३, जेठ ३१ गते

14 Jun 2026 | आइतवार, जेठ ३१ गते २०८३

आइतवार, जेठ ३१ गते २०८३
images
images

कांग्रेस दास र लासहरूको पार्टी होइन, प्रश्न गर्ने जिउँदा मानिसहरूको पार्टी हो : गगन थापा

कांग्रेस दास र लासहरूको पार्टी होइन, प्रश्न गर्ने जिउँदा मानिसहरूको पार्टी हो : गगन थापा

आइतवार , पौष २७, २०८२

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कांग्रेसभित्र नेतृत्वलाई प्रश्न गर्ने र खबरदारी गर्ने चरित्र अझै जीवित रहेको दाबी गरेका छन्।

उनले कांग्रेस दास र ‘लास’हरूको पार्टी नभई जिउँदा चेतनाशील मानिसहरूको पार्टी भएको स्पष्ट पारे।

आइतबार भृकुटीमण्डपमा आयोजित विशेष महाधिवेशनलाई सम्बोधन गर्दै महामन्त्री थापाले नेतृत्वका गलत निर्णयमाथि प्रश्न उठाउँदा अनुशासनहीन ठहरिने प्रवृत्तिप्रति कडा असन्तोष व्यक्त गरे। उनले प्रश्न र बहसलाई अनुशासनहीनता होइन, पार्टीको जीवन्तता भएको जिकिर गरे।

‘कांग्रेसमा प्रश्न मरेको छैन। कांग्रेस दास र लासहरूको पार्टी होइन,’ थापाले भने, ‘कांग्रेस जिउँदा मानिसहरूको पार्टी हो। त्यसैले यहाँ प्रश्न उठ्छ, बहस हुन्छ र संघर्ष पनि हुन्छ।’

उनले कांग्रेसभित्र कोही पनि सर्वशक्तिमान शासक नहुने उल्लेख गर्दै घुमाउरो शैलीमा अन्य दलहरूको नेतृत्व पद्धतिप्रति व्यंग्य गरे। कांग्रेसमा कसैले ‘नबोल’ भन्दैमा कार्यकर्ता चुप लाग्ने अवस्था नरहेको उनको भनाइ थियो।

‘यहाँ कुनै “बा” छैन, जसले नबोल भनेर आदेश दिँदा सबै चुप लागून्,’ थापाले भने, ‘कांग्रेसमा सभापतिदेखि साधारण सदस्यसम्म सबै बराबर छन्। सबैको अधिकार समान छ।’

महामन्त्री थापाले पार्टीभित्र प्रश्न उठ्ने परम्परा कमजोर भयो भने कांग्रेसले समाजका जटिल समस्याहरूको सामना गर्न नसक्ने चेतावनी दिए। ‘जुन पार्टीभित्र प्रश्न मर्छ, त्यो पार्टीले समाजमा प्रश्न गर्न सक्दैन,’ उनले भने, ‘र जसले प्रश्न गर्न सक्दैन, उसले उत्तर खोज्न पनि सक्दैन।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077