डोल्पा । प्रतिनिधिसभा निर्वाचनमा उज्यालो नेपाल पार्टीबाट उम्मेदवार बनेका दिलबहादुर विष्ट नेपाली कांग्रेसमा पुनः प्रवेश गरेका छन्।
शनिबार कांग्रेसका सह–महामन्त्री तथा डोल्पाबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार कर्णबहादुर बुढा स्वयं विष्टको निवासमा पुगेर उनलाई पार्टीमा स्वागत गरेका हुन्।
नेपाली कांग्रेस त्रिपुरासुन्दरी नगर कार्यसमिति डोल्पाले विष्टको सम्मानमा विशेष स्वागत कार्यक्रम आयोजना गरी औपचारिक रूपमा पार्टी प्रवेश गराएको नगरसभापति टोपबहादुर शाहीले जानकारी दिए। कार्यक्रममा स्थानीय नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति थियो।
कांग्रेसमा फर्किएपछि प्रतिक्रिया दिँदै विष्टले नेपाली कांग्रेस नै आफ्नो राजनीतिक यात्रा र वैचारिक प्रतिबद्धताको मूल थलो भएको बताए। उनले भने, ‘नेपाली कांग्रेसप्रति मेरो योगदान, लगानी र निष्ठा सतही होइन, त्यो दीर्घकालीन, गहिरो र प्रतिबद्धताले भरिएको छ। आज म आफ्नै घर फर्किएको अनुभूति गर्दैछु।’
विष्ट २०७९ सालको स्थानीय तह निर्वाचनमा त्रिपुरासुन्दरी नगरपालिकाको प्रमुख पदका लागि कांग्रेसबाट टिकट नपाएपछि तत्कालीन नेकपा माओवादी केन्द्रमा प्रवेश गरी उम्मेदवारी दिएका थिए। तर, उक्त निर्वाचनमा उनी १ हजार ४ सय २२ मतसहित तेस्रो स्थानमा सीमित हुन पुगेका थिए।
यता, मुख्य निर्वाचन कार्यालय डोल्पाका अनुसार विष्टको नाम हालसम्म प्रतिनिधिसभा उम्मेदवारी दर्तामा यथावत् नै रहेको छ। यद्यपि पार्टी परिवर्तनसँगै आगामी दिनमा उम्मेदवारीबारे के निर्णय हुन्छ भन्ने विषयमा राजनीतिक वृत्तमा चासो बढेको छ।