काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आउँदो प्रतिनिधि सभा निर्वाचनको तयारी र सुरक्षा व्यवस्थाबारे सबै सुरक्षा निकायका प्रमुखहरूसँग जानकारी लिएकी छन् ।
मंगलबार बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री कार्कीले गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्य सचिव सुमनराज अर्याल, प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव राजकुमार श्रेष्ठ, नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की लगायत उच्च पदाधिकारीहरूको ब्रिफिङ लिएकी हुन् ।
बैठकमा हालको सुरक्षा व्यवस्थापन, सम्भावित चुनौतीहरू र तिनको सम्बोधनका लागि अपनाइएको रणनीतिहरूको विस्तृत मूल्याङ्कन गरिएको थियो। प्रधानमन्त्री कार्कीले हालको निर्वाचन सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताइन्।
साथै उनले चुनौती सिर्जना गर्न सक्ने सम्भावित व्यक्ति र समूहको पहिचान गरी तिनीहरूको कडा निगरानी र नियन्त्रणका उपाय अपनाउन निर्देशन दिएकी छन्। प्रधानमन्त्री कार्कीले सुरक्षा निकायबीच आपसी समन्वय र सतर्कता आवश्यक रहेको पनि जोड दिएकी छन्।
यस निर्णयसँगै देशभर चुनाव शान्तिपूर्ण, निष्पक्ष र सुरक्षित रुपमा सम्पन्न हुने वातावरण सुनिश्चित गर्न सुरक्षा निकायहरू उच्च सतर्कतामा रहने जनाइएको छ।