काठमाडौं । थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासले कम्बोडियामा बिनाभिसा तथा कानुनी कागजातबिना बसिरहेका ६६ नेपाली नागरिकलाई तत्काल नेपाल फर्कन आग्रह गरेको छ ।
दूतावासले आइतबार जारी गरेको सूचनामा उनीहरूको भिसा शुल्क तथा जरिबाना मिनाहा गरिसकिए पनि ‘ट्राभल डकुमेन्ट’ उपलब्ध भए तापनि हालसम्म नेपाल फर्कन पहल नगरेको जनाइएको छ ।
दूतावासका अनुसार कम्बोडिया सरकारले नयाँ कानुनी व्यवस्था लागू गर्दै तोकिएको समयपछि अवैध रूपमा बस्ने विदेशी नागरिकमाथि कडा कारबाही गर्ने व्यवस्था गरेको छ। जसअनुसार दोषी ठहरिएमा पाँच लाख अमेरिकी डलरसम्म जरिबाना र आजीवन कारावाससम्मको सजाय हुन सक्ने प्रावधान रहेको उल्लेख गरिएको छ।
“तोकिएको समयमा आफ्नो मुलुक नफर्कने विदेशी नागरिकहरूमाथि नयाँ कानुनअनुसार अनुसन्धान गरी कडा सजाय हुने व्यवस्था छ,” दूतावासले जारी गरेको सूचनामा भनिएको छ।
यसै आधारमा सम्बन्धित नेपाली नागरिकलाई यथाशीघ्र कनेक्टिङ फ्लाइटसहितको टिकटको व्यवस्था गरी जेठ २९ गतेभित्र नेपाल फर्किन आग्रह गरिएको छ।
दूतावासले परिवारजनलाई पनि आफ्ना आफन्तलाई तत्काल स्वदेश फर्काउन आवश्यक पहल गर्न अनुरोध गरेको छ। अवैध रूपमा बसिरहेका नेपालीहरूलाई पक्राउ परेमा गम्भीर कानुनी सजाय भोग्नुपर्ने जोखिम रहेको चेतावनी समेत दिइएको छ।
यसअघि विभिन्न प्रलोभनमा परी कानुनी आधारबिना कम्बोडियामा पुगेका ६०२ नेपाली नागरिकका लागि भिसा शुल्क तथा जरिबाना मिनाहा गराई नेपाल फर्कन सहजीकरण गरिएको दूतावासले जनाएको छ। तीमध्ये अधिकांश फर्किए पनि ६६ जना अझै सम्पर्कमा नआएको दूतावासको भनाइ छ।
