Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कम्बोडिया सरकारद्धारा अवैध बसेका ६०२ नेपालीको जरिबाना मिनाहा, स्वदेश फिर्ता हुँदै

कम्बोडिया सरकारद्धारा अवैध बसेका ६०२ नेपालीको जरिबाना मिनाहा, स्वदेश फिर्ता हुँदै

शुक्रवार , जेठ १५, २०८३

काठमाडौं । कम्बोडिया सरकारले भिसा अवधि सकिएपछि पनि अवैध रुपमा त्यही बसिरहेका ६०२ नेपाली नागरिकको जरिबाना शुल्क मिनाहा गरेको छ । 

थाइल्यान्डको बैंककस्थित नेपाली दूतावासको अनुरोधपछि कम्बोडियाले यो निर्णय गरेको हो ।

यस निर्णयपछि स्वदेश फर्किन बाँकी रहेका नेपालीलाई नेपाल पठाउने प्रक्रिया सहज भएको छ । थाइल्यान्डका लागि नेपाली राजदूत धनबहादुर वलीका अनुसार सबैलाई नेपाल फर्कनका लागि ‘ट्राभल डकुमेन्ट’ पनि उपलब्ध गराइसकिएको छ ।

उनका अनुसार हाल ३०२ जना नेपाली अझै फर्किन बाँकी छन् । तीमध्ये २५० जना छिट्टै नेपाल फर्कने तयारीमा छन् भने ५२ जना भने अझै कम्बोडियामै बसेका छन् । उनीहरूलाई एक हप्ताभित्र फर्कन दूतावासले आग्रह गरेको छ ।

तोकिएको समयसीमा पालना नगर्नेहरूलाई भने त्यहाँको नयाँ कानुनअनुसार थप जरिबाना तथा कैद सजायको व्यवस्था लागू हुने चेतावनी दिइएको छ ।

कम्बोडियामा भिसा अवधि सकिएपछि बस्ने विदेशीलाई प्रतिदिन १० अमेरिकी डलर जरिबाना लाग्थ्यो ।

तर, नयाँ कानुनी प्रावधानअनुसार अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्रमा संलग्न हुने वा भिसा समाप्त भएपछि पनि बसिरहने विदेशीलाई ५ लाख अमेरिकी डलरसम्म जरिबाना तथा आजीवन कैदसम्मको सजाय हुन सक्ने व्यवस्था रहेको उल्लेख गरिएको छ ।

दूतावासका अनुसार मानव तस्करले विभिन्न प्रलोभन देखाएर नेपालीलाई कम्बोडिया पुर्‍याई अवैध काममा लगाउने गरेको पाइएपछि पछिल्ला दुई वर्षदेखि उद्धार र फिर्ती प्रक्रिया चलिरहेको छ ।

यस्तै जरिबाना तथा शुल्क मिनाहा भएका व्यक्तिहरूले स्वदेश फर्कन आवश्यक हवाई टिकटको व्यवस्था आफैँ गर्नुपर्नेछ । टिकट व्यवस्थापन गरेपछि त्यसको जानकारी कम्बोडियाको अध्यागमन निकायमा गराउनुपर्ने प्रावधानसमेत लागू हुने दूतावासले स्पष्ट पारेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077