Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

कम्बोडियाका विभिन्न स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार

कम्बोडियाका विभिन्न स्क्यामिङ सेन्टरबाट ७ नेपालीको उद्धार

सोमवार , चैत्र २३, २०८२

काठमाडौं । कम्बोडिया लगेर अवैधरूपमा अनलाइन ठगी र क्यासिनोमा काम गर्न बाध्य पारिएका सात नेपालीको उद्धार गरिएको छ । 

थाइल्याण्डको बैंककस्थित नेपाली राजदूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उनीहरूको उद्धार गरी नेपाल फर्काइएको हो । 

गैरआवासीय नेपाली संघ ९एनआरएनए० कम्बोडियाको सहजीकरणमा उनीहरू चैत २२ गते कम्बोडियाबाट उडेर २३ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको दूतावासले विज्ञप्ति जारी गरे जानकारी दिएको छ । 

‘कम्बोडियामा नेपाली नागरिकहरू अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाभिसा वा भिसा अवधिभन्दा बढी समय बसिरहेको जानकारी यस राजदूतावासलाई प्राप्त भएको छ,’ दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

दलालको फन्दामा परेर कम्बोडिया पुगेका उनीहरूलाई त्यहाँ अवैध रूपमा सञ्चालित अनलाइन स्क्यामिङ केन्द्र तथा क्यासिनोहरूमा गैरकानुनी काममा लगाइएको थियो ।

कतिपय भने भिसाविना नै लुकेर बसिरहेका थिए। पछिल्लो समय भिजिट भिसाको बहानामा कम्बोडिया पुग्ने नेपालीको संख्या अस्वाभाविक रूपमा बढेको डरलाग्दो तथ्याङ्क सार्वजनिक भएको छ। 

कम्बोडियाको पर्यटनसम्बन्धी तथ्याङ्कअनुसार सन् २०२१ मा जम्मा १०१ जना नेपाली भ्रमण भिसामा कम्बोडिया गएकोमा यो संख्या हरेक वर्ष आकाशिँदै गएको छ। सन् २०२२ मा एक हजार ९७७, सन् २०२३ मा २ हजार ९४० र सन् २०२४ मा ६ हजार ४०४ जना नेपाली कम्बोडिया पुगेकोमा सन् २०२५ मा यो संख्या बढेर ९ हजार ६ सय ७६ पुगेको दूतावासले जनाएको छ। 

दूतावासले अझै केही नेपाली अलपत्र अवस्थामा रहेको सूचना आएको र उनीहरुको पहिचान गरी नेपाल फर्काउने प्रयास भइरहेको उल्लेख गरेको छ ।

साथै कठिन अवस्थामा रहेका र नेपाल फर्कन चाहने नेपाली नागरिकलाई सहजीकरणको लागि तत्काल सम्पर्क गर्न दूतावासले आग्रह गरेको छ । 

यही चैत ११ गते मात्रै विभिन्न प्रलोभनमा परी कम्बोडिया पुगेर अलपत्र परेका ५१ जना नेपालीहरूको उद्धार गरिएको थियो ।

त्यसअघि पनि यही चैत्र ५ गते कम्बोडियामा अलपत्र परेका २० नेपालीलाई उद्धार गरेर काठमाडौं ल्याइएको थियो ।

यसैगरी फाल्गुन २८ गते विभिन्न माध्यमबाट कम्बोडिया पुगेका १६ नेपालीको उद्धार गरिएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077