काठमाडौं । काठमाडौं निर्वाचन क्षेत्र नम्बर–५ का प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा नेकपा एमालेका नेता ईश्वर पोखरेलले आसन्न निर्वाचनलाई देश निर्माणको सङ्कल्पप्रति जनमतका रूपमा लिएको बताएका छन् ।
काठमाडौं महानगरपालिका–३ मा आयोजित चुनावी कार्यक्रममा उनले राष्ट्रिय स्वाभिमान, स्वाधीनता, स्वतन्त्रता र अखण्डताको पक्षमा उभिने शक्तिहरू एकजुट हुनुपर्ने धारणा राखेका हुन् ।
'देश बनाउने शक्ति विजयी हुनुपर्छ भन्ने हाम्रो स्पष्ट अडान हो,' उनले भने। पोखरेलले विकास र राजनीतिक स्थायित्वलाई आफ्नो दलको प्रमुख एजेण्डा भएको उल्लेख गरे।
पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा सुरु गरिएका ठूला पूर्वाधार तथा विकास आयोजनाहरूलाई पूर्णता दिन एमालेको जित आवश्यक रहेको उनको भनाइ थियो।