काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ सुरु भएसँगै सरकारी कर्मचारीको तलब तथा सुविधा आजदेखि बढेको छ । सरकारले बजेटमार्फत घोषणा गरेको नयाँ तलबमान र प्रोत्साहन भत्ता शुक्रबारदेखि कार्यान्वयनमा आएको हो।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले गत जेठ १५ गते प्रस्तुत गरेको आर्थिक वर्ष २०८३/८४ को बजेटमा सरकारी कर्मचारीको पारिश्रमिक तथा सुविधामा पुनरावलोकन गर्दै सुरु स्केलमा १० प्रतिशत तलब वृद्धि गर्ने घोषणा गरेका थिए।
नयाँ व्यवस्थाअनुसार कर्मचारीले आधारभूत तलबमा भएको वृद्धिसँगै मासिक १० प्रतिशत प्रोत्साहन भत्ता पनि प्राप्त गर्नेछन्।
सरकारका अनुसार तलब वृद्धि र प्रोत्साहन भत्ताको संयुक्त प्रभावले कर्मचारीको खुद आम्दानी करिब २१ प्रतिशतसम्म बढ्ने अपेक्षा गरिएको छ।
बजेट कार्यान्वयनसँगै सरकारी कर्मचारीको न्यूनतम मासिक तलब ४० हजार रुपैयाँ र अधिकतम एक लाख रुपैयाँसम्म कायम गरिएको छ।