Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • कोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

    कोरोनाको त्रासः इटालीमा एक तिहाई जनसंख्यालाई अलग पारियो

    अनलाइन नेपाल
  • आइतबार, २५ फाल्गुन २०७६
  • 2.1K
    SHARES

    रोम । इटालीको उत्तरी क्षेत्रमा आइतबार एक करोड ५० लाखभन्दा बढी मानिसलाई क्वारेन्टाइनमा बस्न इटाली सरकारले आदेश दिएको छ । घातक कोरोनाभाइरसको सङ्क्रमण रोक्ने प्रयासस्वरुप सरकारले कडा कदम चाल्न बाध्य भएको जनाएको छ ।

    इटालीका प्रधानमन्त्री ज्युसेप कोन्टेले ट्विट गर्दै भेनिस र आर्थिक राजधानी मिलानलगायतको ठूलो क्षेत्रमा कम्तिमा एक महिनाका लागि आवागमनमा कडाई गर्ने एक योजनामा हस्ताक्षर गरेको बताउनु भएको छ । प्रधानमन्त्री कोन्टेको आदेशमा मानिसको भिडभाड हुने सिनेमाघर, संग्रहालय, थिएटरहरु सबै बन्द गर्न भनिएको छ ।



    “कोरोनाभाइरसकै कारण नयाँ आदेशलाई अन्ततः अनुमोदन गरेको छु,” कोन्टेले भन्नु भएको छ । इटालीका अखबारहरु कोरियर डेला सेरा र अन्य संचार माध्यमले उत्तर इटालीमा आवागमन निषेध भएको भन्दै खबरहरु प्रकाशन गरेका छन् ।



    इटालीमा कोविड–१९ कै कारण झण्डै २३० जनाको मृत्यु भइसकेको छ । चीन बाहिर यति ठूलो संख्यामा मानिसको मृत्यु भएको इटालीमै हो । चीनमा गत डिसेम्बरमा देखा परेको यस प्रकोपले विश्वका धेरै देशलाई प्रभाव पारिरहेको छ ।

    विश्व बैंकका अनुसार जापान पछि इटालीमा विश्वमै बुढ्यौली उमेरका मानिसको बसोबास सर्वाधिक बढी छ, र नयाँ कोरोनाभाइरसबाट वृद्धहरू गम्भीर बिरामी हुने सम्भावना बढी देखिन्छ ।

    स्थगित गर्नै नसकिने “गम्भीर” कारण भएमा, अन्य जरुरी काम वा पारिवारिक मामिलाहरू भएमा बाहेक मानिसहरूलाई क्वारेन्टाइन क्षेत्रमा प्रवेश गर्न वा छाड्न अनुमति दिइने छैन, कोरियर डेला सेराले लेखेको छ ।

    यसमा सम्पूर्ण लोम्बार्डी क्षेत्रका साथै भेनिस र वरपरका क्षेत्रहरू, र पर्मा र रिमिनी शहरहरू सामेल छन् । यसबाट इटालीको कूल ६ करोड जनसंख्याको एक तिहाईलाई असर पार्नेछ ।

    यी ठाउँहरूमा सङ्ग्रहालयहरु, रात्रिक्लब, जिमखाना र क्यासिनोहरू बन्द गरिनेछन् । सकेसम्म मानिसलाई घरभित्रै बस्ने सल्लाह दिइएको बताउँदै उक्त अखबारले यी प्रतिबन्धहरू आगामी अप्रिल ३ सम्म लागू हुने जनाएको छ ।

    यी क्षेत्रभन्दा बाहिरका व्यक्तिलाई आआफ्ना घर फर्कन दिइनेछ । बारहरू र रेष्टुरेन्टहरूमा ग्राहकहरु एकअर्कासँग करिब एक मिटर टाढै रहने प्रबन्ध सुनिश्चित गरेमा खुला राख्न अनुमति दिइनेछ ।

    इटालीमा गरिएको यो प्रबन्ध चीनको हुबे प्रान्तको झैं छ । हुबेको राजधानी उहानमा भाइरसको प्रकोप देखिएपछि यहाँ जनवरीको अन्त्यदेखि पूरै शहरलाई अन्य क्षेत्रबाट अलग राखिएको छ ।

    विश्वव्यापी रूपमा, कोरोना सङ्क्रमित व्यक्तिको संख्या एक लाख नाघिसकेको छ । यस रोगबाट हालसम्म ३ हजार ५०० जनाको मृत्यु हुनुका साथै विश्वका ९५ भन्दा बढी देशमा कोरोना फैलिइसकेको छ ।(रासस/एएफपी)

    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार