Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • संसदबाट सर्वसम्मत रूपमा संविधान संशोधन विधेयक २०७७ पारित

    संसदबाट सर्वसम्मत रूपमा संविधान संशोधन विधेयक २०७७ पारित

    अनलाइन नेपाल
  • शनिबार, ३१ जेष्ठ २०७७
  • 4.8K
    SHARES

    फाइल फोटो

    काठमाडौं । प्रतिनिधिसभा बैठकले आज सर्वसम्मत रुपमा सविधान संशोधन गरेको छ ।

    बैठकबाट नेपालको अद्यावधिक नक्सा समेटिएको ‘नेपालको संविधानको (दोस्रो संशोधन) विधेयक, २०७७’ दुई तिहाइ भन्दा बढी मतले पारित गरेको हो ।



    प्रतिनिधिसभाको शनिबारको बैठकले भारतीय अतिक्रमणमा रहेका कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटिएको नक्सालाई संविधानको अनुसूची ३ को निसान छापमा राख्ने विधेयक सर्वसम्मतिले पारित गरेको हो ।



    शनिबार बसेको संसद बैठकले नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ल्याइएको संविधान संशोधन विधेयक सर्वसम्मत पास गरेको हो ।

    बैठकमा २५८ सांसद उपस्थित थिए । सबैले संविधान संशोधन विधेयकको पक्ष मत दिएका छन् ।

    त्यसपछि सभामुख अग्नि सापकोटाले संविधान संशोधन विधेयक दुई तिहाईभन्दा बढी मतले पास भएको घोषणा गरेका हुन्।

    सरकारले जेठ ५ गते नयाँ नक्सा पास गरेको थियो भने ७ गते सार्वजनिक गरेको थियो ।

    नयाँ नक्साअनुसार निशान छाप परिर्वतन गर्न ९ गते नै संसद सचिवालयमा संविधान संशोधन विधेयक दर्ता भएको थियो ।

    यसरी भयाे सर्वसम्मत रुपमा सविधान संशोधन

    प्रतिनिधिसभामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संविधान संशोधनको प्रस्ताव प्रस्तुत गरेकी थिइन् । मन्त्री तुम्वाहाङ्फेले प्रस्ताव प्रस्तुत गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले मतदान प्रक्रिया अगाडि बढाएका थिए ।

    प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले संविधान संशोधनको पक्षमा २ सय ५८ र विपक्षमा सून्य मत परेको घोषणा गरे ।

    यो संख्या प्रतिनिधिसभाको तत्काल कायम संख्याको दुई तिहाईभन्दा बढी रहेको सभामुख सापकोटाले बताएका थिए ।

    २ सय ७५ सदस्यीय प्रतिनिधिसभामा ४ सांसद निलम्बनमा छन् । जनता समाजवादी पार्टीकी सांसद सरिता गिरीले राखेको संशोधन प्रस्ताव सभामुख अग्निप्रसाद सापकोटाले अस्वीकृत गरेपछि उनी संसदबाट बाहिरिएकी थिइन् ।

    अफ्ताव आलम कर्तब्यज्यानको आरोपमा थुनामा छन् । रेशम चौधरी पनि टीकापुर प्रकरणमा जेलमा छन् । विजय गच्छदार र हरिनारायण रौनियार भ्रष्टाचार मुद्दा लागेर निलम्बनमा छन् ।

    सभामुख अग्निप्रसाद सापकोटाले निर्णायक अवस्थामा मात्र मतदान गर्नपाउने ब्यवस्था छ ।

    सरकारले यसअघि लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेको नक्सा जेठ ७ मा स्वीकृत गरेको थियो ।

    लिम्पियाधुरा, लिपुलेक, कालापानीसहितको भूभाग समेटेर सरकारले नयाँ नक्सा जारी गरेपछि निशानछापमा नयाँ नक्शा राख्न संविधान संशोधन गर्ने बिधेयक कानुनमन्त्री तुम्बाहाङ्फेले जेठ २७ मा प्रतिनिधिसभामा पेश गरेकी थिइन् । जुन बिधेयकमा सबै सांसदको समर्थन रहेको थियो ।

    संसदमा दफाबार छलफल सकिएपछि मन्त्री तुम्बाहाङ्फेले संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा प्रस्तुत गरेकी थिइन् । मन्त्रीेले प्रस्ताव प्रस्तुत गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गरेका थिए ।

    सभामुख सापकोटाले सांसदहरुलाई मतदानका लागि आग्रह गरेपछि सबैले आ आफ्नो आसनबाट उठेर संविधान संशोधनका पक्षमा दस्तखत गरेका थिए । सांसदहरुलाई दस्तखत गर्नमात्रै झन्डै ४५ मिनेट लागेको थियो ।

    शनिबार दिउँसो १ बजे सुरु भएको संसदमा नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा, जनता समाजवादी पार्टीका नेता राजेन्द्र महतो, उपेन्द्र यादव, राप्रपाका राजेन्द्र लिङ्देन, मसालका दुर्गा पौडेल, नेमकिपाका प्रेम सुवाल लगायतका सांसदहरुले संविधान संशोधन गर्ने पक्षमा धारणा राखेका थिए ।

    १२ जना सांसद अनुपस्थित

    संसदबाट एतिहासिक निर्णय भएको दिन आज १२ जना संसद अनुपस्थित भए । विधेयकमाथि मतदान नगर्ने सांसदमा अमृतादेवी अग्रहरी, गोपालबहादुर बम, दुलारीदेवी खत्वेनी, धनबहादुर बुढा, नागेन्द्रकुमार चौधरी, प्रमोद शाह र शिवकुमार मण्डल रहेका छ ।

    त्यसैगरी सूर्यनारायण यादव, सूर्यबहादुर केसी, हरिबोल गजुरेल, सरिताकुमारी गिरी र ज्ञानकुमारी छन्त्याल पनि अनुपस्थित भएको संसद सचिवायलयका सहायक प्रवक्ता दशरथ धमलाले जानकारी दिए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार