Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

बाढीपहिराे पीडितलाई प्रदेश सरकारले घर बनाइदिने

कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्बीसुब्बा गुरुङले प्रदेशभरिका बाढीपहिरा पीडितको घर प्रदेश सरकारले बनाउने बताएका छन् ।गृहजिल्ला लमजुङस्थित आज मस्र्याङ्दी गाउँपालिका–३ तरापु पल्लोटारीका बाढीपहिरा प्रभावितलाई घटनास्थलमा नै पुगी राहत वितरण गर्दै मुख्यमन्त्री गुरुङले लमजुङलगायत प्रदेशका विभिन्न जिल्लामा बाढीपहिराले मानवीय नोक्सानसहित घर भत्किएका परिवारको घर प्रदेश सरकारले बनाउनेछ भने । बाढीपहिराका कारण प्रदेशभरि करिब ५०० घर बनाउनुपर्ने बताइएको छ ।

बाढीपहिरा पीडितको घर निर्माणका लागि सङ्घीय सरकारले भूकम्प पीडित सरह राहतस्वरुप रु तीन लाख उपलब्ध गर्ने निर्णय गरिसकेको र यसबाहेक आवश्यक रकम प्रदेश सरकारले थपेर घर निर्माण गर्ने उहाँको भनाइ छ । ‘‘सुरक्षित स्थानमा प्रदेश सरकारले घर निर्माण गर्नेछ भूकम्पको जस्तो आवास पुनःनिर्माणमा ढिलाइ हुँदैन’’, मुख्यमन्त्री गुरुङले भने । सबै घरहरु निर्माण सम्पन्न हुनका लागि कम्तिमा साढे दुई वर्षदेखि तीन वर्ष लाग्ने मुख्यमन्त्री गुरुङको भनाइ छ ।

यही साउन ७ र ८ गते गएको पहिराले पूर्ण क्षति बनाएको तरापु पल्लोटारीका २१ घरलाई राहत वितरण गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले बाढीपहिरो पीडित २१ घरलाई आर्थिक सहयोग गरेको हो । राहत मुख्यमन्त्री गुरुङले बाढीपहिरो पीडितलाई हस्तान्तरण गरेका थिए ।

पाँच जनाभन्दा कम परिवार भएका १९ परिवारलाई प्रत्येक परिवारलाई रु १५ हजार र पाँच जना परिवारभन्दा बढी भएको परिवारका दुई जनालाई रु २० हजारका दरले गरी कूल रु तीन लाख २५ हजार सहयोग गरिएको प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले बताए ।

राहत वितरण कार्यक्रममा मुख्यमन्त्री गुरुङसहित गण्डकी प्रदेशमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुख्य सचेतक मायानाथ अधिकारी, सांसद मधुमाया अधिकारी, धनञ्जय दवाडी, प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्मालगायतले स्थलगतको निरीक्षण तथा अवलोकन गरेका थिए ।

बालकको मृत्यु, युवती बेपत्ता


पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ । सुन्दरबजार नगरपालिका–६ स्थित विनोद बस्यालको १३ वर्षीय अभिनाश बस्यालको मृत्यु भएको प्रहरीले जनाएको छ । साथीहरुसँग खेल्ने क्रममा माछापोखरीमा डुबेर घाइते भएका उनको सुन्दरबजारस्थित कर्मदा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक ओमप्रकाश पुनको भनाइ छ ।

र्दी गाउँपालिका–६ कीर्तिपुरस्थित दोर्दी खोलाले बगाएर आज एक युवती बेपत्ता भएकी छिन् । दिउँसो डोरीको सहायताले खोला तरेर खोलापारीको मन्दिरमा जाने क्रममा डोरी चुडिएर सोही वडाको सिमीकी २५ वर्षीय फुलमाया गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक ओमप्रकाश पुनले बताए ।

खोलाले बगाएका कीर्तिपुरकै स्थानीय १७ वर्षीय विकास घलेको भने सकुशल नै उद्धार गरिएको उनको भनाइ छ । युवती र युवकसँगै खोला तरेर पारी मन्दिरमा पूजा गर्नका लागि जाने क्रममा डोरी चुडिएर खोलाले बगाएको प्रहरीको भनाइ छ । घलेले चुडिएको डोरी नै समाती रहेकाले स्थानीयले उद्धार गर्न सफल भएको तर युवती भने बेपत्ता भएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077