Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा हुने

काठमाडौं । काेराेना कहरले गर्दा पटक-पटक मिति सरेकाे नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं वार्षिक साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुने भएको छ । गत चैत्रमा हुनुपर्ने निर्वाचन कोभिड–१९ का कारणबाट तीनतीन पटकसम्म मिति तय भएर पनि हुन सकेको थिएन ।

महासंघको बिहीबार बसेको कार्यकारिणी समितिको बैठकले महासंघको ५४ औं वार्षिक साधारणसभा तथा निर्वाचनको मिति तोकेको हो ।

“आज बसेको कार्यसमितिको बैठकले महासंघको साधारणसभा तथा निर्वाचन आगामि मंसिर ११ र १२ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ, ठाउँको हकमा प्रज्ञा भवन तथा राष्ट्रिय सभा गृहमा महासंघको सचिवालयले कुरा गरिरहेको छ, ठूलो र खुला ठाउँ आवश्यक पर्ने भएकोले निर्वाचन समिति र महासंघको सचिवालयले अध्यक्षज्यूसँग सरसल्लाह गरी ठाउँ निश्चित गर्नेछ,” महासंघका उपाध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

यस अघि बसेको महासंघको कार्यकारिणी समितिले महासंघको साधारणसभा तथा निर्वाचनसम्बन्धी सुझाव दिनका लागि ६ सदस्यीय छुट्टै कार्यदल बनाएको थियो । उक्त कार्यदलले महासंघको साधारणसभा भर्चुअल्ली र निर्वाचनका कार्यक्रमहरु काठमाडौंमा गर्नका लागि सिफारिस गरेको थियो ।

त्यसपछि बसेको पदाधिकारीको बैठकले मंसिर ११ र १२ लाई साधारणसभा तथा निर्वाचनको मिति सिफारिस गरी नेपाल सरकारबाट समेत अनुमति लिइसकेको छ।

नेपाल सरकारबाट अनुमती लिँदा स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पूरा गर्ने र अब उपरान्त कोभिड १९ का कारण कुनै स्थानीय तहले लकडाउन तथा निषेधाज्ञा गरेमा महासंघका प्रतिनिधिलाई आवातजावतमा सहजीकरण गर्ने समेतको स्वीकृति रहेको छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा तथा निर्वाचन २०७६ साल चैत्र २८ र २९ गते तोकिएकोमा उक्त समयमा नेपाल सरकारद्वारा कोभिड–१९ का कारणले देश पूर्ण रुपमा लकडाउन भई उक्त साधारणसभा तथा निर्वाचन कार्यक्रम अवरुद्ध भएको थियो ।

पछि जेष्ठ ७ र ८ गते र साउन २६ र २७ गतेका लागि मिति तोकिएको थियो । तर ,देशमा जारी लकडाउन तथा निषेधाज्ञा हालसम्म पनि साधारणसभा हुन सकेको थिएन ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077