Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पशुपतिमा शिवरात्रिको भव्य तयारी, महँगा गहना र बालबालिका लिएर नआउन आग्रह

 

कोरोनाको त्रास कायमै रहेका बेला यस वर्षको महाशिवरात्रि पर्व मनाउन पशुपति क्षेत्र विकास कोषले ११ वटा समिति गठन गरेको छ । कोष कार्य सम्पादन समितिको बैठकले सदस्य–सचिव डा प्रदीप ढकालको संयोजकत्वमा सुरक्षा व्यवस्थापन तथा अनुगमन समिति गठन गरेको छ ।

यसैगरी कोषाध्यक्ष डा मिलनकुमार थापाको संयोजकतवमा प्रचारप्रसार व्यवस्थापन समिति गठन गरिएको छ भने परिषद् सदस्य भगवती देवको संयोजकत्वमा दर्शन, चन्दन व्यवस्था मन्दिर एवं रात्रिकालीन व्यवस्था समिति बनाइएको छ । त्यस्तै परिषद् सदस्य ध्रुव उप्रेतीको संयोजकत्वमा आवास, भोजन तथा भौतिक पूर्वाधार समिति, परिषद् सदस्य अर्जुनप्रसाद बाँस्तोलाको संयोजकत्वमा साधुसन्त तथा धार्मिक कार्यक्रम व्यवस्थापन समिति, परिषद् सदस्य आशा पाण्डेको संयोजकत्वमा वातावरण, सरसफाइ तथा जुत्ता चप्पल व्यवस्थापन समिति र परिषद् सदस्य विश्वकरण जैनको संयोजकत्वमा स्वास्थ्य सेवा व्यवस्था समिति गठन गरिएको छ ।

यसैगरी परिषद् सदस्य देवी बरालको संयोजकत्वमा सरकारी निकाय समन्वय समिति, परिषद् सदस्य उद्धवप्रसाद बरालको संयोजकत्वमा मेला, बजार तथा सजावट व्यवस्था समिति, कार्यकारी निर्देशक डा घनश्याम खतिवडाको संयोजकत्वमा स्वयंसेवा परिचालन समिति र मूल्याङ्कन तथा तथ्याङ्क सङ्कलन समिति गठन गरिएको कोषाध्यक्ष थापाले जानकारी दिए ।

महाशिवरात्रिको तयारीस्वरुप पशुपति क्षेत्रमा सफाइ तीव्र बनाइएको छ । आज बिहान वाग्मती सफाइ महाअभियानले समेत पशुपति क्षेत्रमै सफाइ गर्न लागेको अभियानकर्मी किशोरसिंह शाहीले बताउनुभयो । कोषले महाशिवरात्रिमा पशुपतिमा आउने जति भक्तजनलाई दर्शन गराउने गरी तयारी शुरु गरेको छ । महाशिवरात्रिका दिन महँगा गरगहना लगाएर र बालबालिका लिएर पशुपति क्षेत्रमा नआउन समेत कोषले भक्तजनमा अनुरोध गरेको छ ।

फाल्गुन कृष्ण त्रयोदशीका दिन मनाइने महाशिवरात्रि यस वर्ष फागुन २७ गते बिहीबार परेको छ । महाशिवरात्रिका अवसरमा गत वर्ष चैतदेखि कोरोनाका कारण पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा कोषले फागुन २५ गतेदेखि शुरु गर्दैछ । महाशिवरात्रिका दिन भने रु पाँच हजार १०० र रु ११ हजारको मात्र विशेष पूजा गर्ने कोषले घोषणा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077