Jul 26 2026 | २०८३, श्रावण १० गते

26 Jul 2026 | आइतवार, श्रावण १० गते २०८३

आइतवार, श्रावण १० गते २०८३
images
images

पशुपतिनाथ बिहान ५ देखि बेलुकी ७ बजेसम्म खुला हुने

काठमाडौँ । अबदेखि पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ।

कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि गत वर्ष चैत ११ गते लागू गरिएको बन्दाबन्दीअघिकै समयानुसार मन्दिर खुला हुने पशुपति क्षेत्र विकास कोषका कार्यकारी निर्देशक डा घनश्याम खतिवडाले बताए।

विसं २०७६ चैत ११ गते कोरोना सङ्क्रमण रोकथाम तथा न्यूनीकरणका लागि बन्दाबन्दी जारी गरिएपछि पशुपतिनाथ मन्दिरमा भक्तजनलाई दर्शन गर्न पनि रोक लगाइएको थियो। कोरोनाको जोखिम कम हुँदै गएपछि पुस १ गतेदेखि बिहान ६ बजेदेखि दिउँसो २ बजेसम्म मन्दिर खुला गरिएको थियो।

बिहीबार महाशिवरात्रिपछि आजदेखि भने विसं २०७६ चैत १० गतेसम्म खुला गरिएअनुसार मन्दिर खुला गरिएको कोषका कार्यकारी निर्देशक डा खतिवडाले जानकारी दिए।

आजदेखि नै पशुपतिनाथ मन्दिर बिहान ५ बजेदेखि बेलुकी ७ बजेसम्म खुला हुने भएको छ। मध्याह्न करिब एक घण्टा भने पशुपतिनाथको पूजा एवं भोगका लागि मन्दिर बन्द गर्ने विधि छ।

विशेष पूजा निरन्तर

कोरोनाकालमा रोकिएको विशेष पूजा पनि कोषले फागुन २५ देखि शुरु गरेको छ।

हाल एक हजार १०० देखि २७ हजार रुपैयाँसम्मको विशेष पूजा रसिद काटेर गर्न थालिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले राससलाई जानकारी दिए। पशुपतिनाथ मन्दिरमा एक हजार १०० देखि २५ लाख रुपैयाँसम्मको विशेष पूजा हुने गरेको छ।

कोषले महाशिवरात्रिको अवसर पारेर स्वास्थ्य सुरक्षाका विधि अपनाउँदै विशेष पूजा खुला गरेको हो। महाशिवरात्रिका अवसरमा बिहीबार भने ५ हजार १०० रुपैयाँ र ११ हजार रुपैयाँका गरी दुई किसिमका विशेष पूजामात्र गरिएको थियो।

कोषले विशेष पूजाको रसिद काटेर पूजा गराउने विधि तय गरेको छ। विशेष पूजाबाट कोषलाई वार्षिक नौदेखि १० करोड रुपैयाँसम्म आम्दानी हुने गरेको छ। आर्थिक वर्ष २०७५र२०७६ मा विशेष पूजाबाट नौ करोड ४० लाख ९३ हजार १४५ रुपैयाँ आम्दानी भएको थियो।

गत वर्ष चैतदेखि नै कोरोनाका कारण विशेष पूजा रोकिएको थियो। कोरोनाका कारण करिब नौ महिना मन्दिरसमेत बन्द भई विशेष पूजा रोकिँदा पनि रु ६ करोड १ लाख ८९ हजार ४७५ रुपैयाँ आय भएको कोषाध्यक्ष थापाले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077