पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले भारतीय सीमावर्ती बजार रक्सौलबाट खल्ती र स्कूटीमा लागूऔषध ट्याब तथा बोत्तल लिएर नेपाल प्रवेश गरेका दुई जना नेपाली नागरिकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेहरुमा हेटौंडा उपमहानगरपालिका वडा नं ३ बस्ने ३५ बर्षीय विशाल लामा र दोलखा, झुले गापा २ घर भई हाल चितवन माडी २ बस्ने २० बर्षीय सुरज कार्की रहेका छन् ।
लामाले ना ४४ प २६५७ नम्बरको स्कुटीको अगाडि सेतो बोरामा र ज्याकेटको खल्तीमा ठूलो परिमाणमा लागूऔषध लिएर आउँदै गर्दा वीरगंज भन्सार नजिककै सशस्त्र प्रहरीको चेकिङमा परेर प्रहरीको फन्दामा परेका थिए ।
त्यस्तै, कार्कीले वीरगंजबाट चितवनको लागि छुटेको बसमा प्रहरी चौकी परिवानीपुर अगाडि गरेको चेकिङमा उनको खल्तीबाट पनि लागूऔषध ट्याब बरामद भएपछि प्रहरीले पक्राउ गरेको थियो ।
लामाको साथबाट विनरेक्स १०० एम्पुल अर्थात २४५ बोत्तल र नाइट्रोभेटको ५ पत्ता अर्थात ७५ पिस टयाब बरामद भएको थियो भने कार्कीको साथबाट पनि ७५ पिस ट्याब बरामद भएको पर्सा प्रहरीले जनाएको छ।