कैलाली। जंगलमा लुकेर जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत असईसहित ५ जना जुवाडे कैलालीबाट पक्राउ परेका छन् ।
जिल्लाको गोदावरी नगरपालिका- १० खमौरास्थित जंगलमा जुवा तास खेलिरहेको भन्ने विशेष सुचनाका आधारमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका ३ का डबल चन्द, बालकृष्ण पनेरु, गोदावरी नगरपालिका-५ का टेकबहादुर विष्ट, कञ्चनपुरको भीमदत्त नगरपालिका ४ का सन्तोष चन्द र भीमदत्त नगरपालिका-७ घर भई सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलमा कार्यरत प्रहरी सहायक निरीक्षक पुष्कर भट्ट रहेका छन्।
उनीहरुको साथबाट नगद ३ लाख ३४ हजार र ख’ल्ला तास ७ गड्डी सिलबन्दी तास ४ गड्डी प्रहरीले बरामद गरको छ।
खराब आचारण देखिएपछि सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख डिआइजी उत्तमराज सुवेदीले असई भट्टलाई थुन्न आदेश दिएको एक प्रहरी अधिकारीले बताए ।