Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु 

काठमाडौं। पर्सा, पाँचथर, रुकुम (पश्चिम) र सुनसरीका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । 

पर्सा, वीरगंज महानगरपालिका-२४ स्थित सडकमा ना.३ ख ३९९२ नम्बरको कन्टेनरले ना.४३ प ९८३४ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकलमा सवार सोही महानगरपालिका-२० बस्ने २५ वर्षीय आषेश प्रसाद यादवको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका उनको तराई अस्पताल वीरगंजमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक सोही ठाउँ बस्ने श्याम बिहारी यादवको सोही अस्पतालमा उपचार भइरहेको छ । कन्टेनर चालकलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

पाँचथर, कुम्मायक गाउँपालिका-४ वानथाकस्थित सडकको ट्रयाक खन्ने क्रममा बिरुवा कन्ट्रक्सन प्रालिको ना.१ क ८३२१ नम्बरको स्काईभेटर अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा स्काईभेटर चालक दोलाखा तामाकोशी गाउँपालिका-३ पुरानोगाउँ बस्ने २८ वर्षीय पवन महतको घटनास्थलमै मृत्यु भएको छ । 

रुकुम(पश्चिम), सानीभेरी गाउँपालिका-९ सुलीहालेस्थित सडकमा चन्द्रा एण्ड बसन्त जेबी कम्पनीको बा.२ क ९८८३ नम्बरको लोडर आफैं अनियन्त्रित भई सडकबाट करिब ५० मिटर तल भेरी नदीमा बिहीबार दिउँसो खस्दा लोडरका सहचालक कैलाली गोदाबरी नगरपालिका-४ बस्ने २२ वर्षीय सन्तोष बुढामगरको घटनास्थलमै मृत्यु भएको छ । 

सुनसरी, कोसी गाउँपालिका-८ तिनकुनेस्थित सडकमा ना.४ ख ५२९१ नम्बरको बसले मे.६ प ८००० नम्बरको  मोटरसाइकललाई बिहीबार साँझ ठक्कर दिँदा मोटरसाइकल चालक ईलाम, ईलाम नगरपालिका-८ तिलकेनी घर भएका ३५ वर्षीय मेख बहादुर राईको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट नर्सिङ होममा उपचारको क्रममा मृत्यु भएको हो । फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077