Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • उपत्यकाको तुवाँलोले ‘फोक्सो र आँखामा पार्न सक्छ गम्भीर प्रभाव’, यस्ता छन् जोगिने उपायहरु

    उपत्यकाको तुवाँलोले ‘फोक्सो र आँखामा पार्न सक्छ गम्भीर प्रभाव’, यस्ता छन् जोगिने उपायहरु

    अनलाइन नेपाल
  • सोमबार, १६ चैत्र २०७७
  • 4.2K
    SHARES

    काठमाडौँ। काठमाडौँ  उपत्यकामा बढेको वायु प्रदूषणले मानव स्वास्थ्यमा गम्भीर असर पर्न सक्ने भन्दै चिकित्सकहरूले सावधान हुन आग्रह गरेका छन्।

    केही दिनदेखि उपत्यकामा बढिरहेको वायु प्रदूषणको मात्रा शुक्रवार एकाएक उच्च तहमा पुगेको थियो । शुक्रबार देखि आइतबारसम्म उपत्यकाको आकाशलाई तुवाँलोले ढाकेको छ ।



    उपत्यकामा यस्तो अवस्था अझै केही दिन रहन सक्ने जल तथा मौसम विज्ञान विभागको पूर्वानुमान छ।



    चिकित्सकहरूका भनाइमा अहिलेको जस्तो वायु प्रदूषणले विशेषतः मानिसको फोक्सो र आँखामा सङ्क्रमण हुनसक्छ ।

    त्यसबाट बच्न विभिन्न उपायहरू अवलम्बन गर्न चिकित्सकहरूले सुझाव दिएका छन्।

    यो प्रदूषणले स्वास्थ्यमा कस्तो असर पार्छ ?

    छातीरोग विशेषज्ञ डा. सुबोधसागर ढकालका अनुसार उपत्यकामा अहिले देखिएको प्रदूषणको मात्रा विश्व स्वास्थ्य सङ्गठनको मापदण्डका हिसाबले हेर्ने हो भने निकै खराब तहको रहेको छ।

    त्यसले गर्दा विशेषगरी छाती, घाँटी, फोक्सो र नाकसम्बन्धी विभिन्न सङ्क्रमण हुने जोखिम बढाएको उनले बताए।

    डा. ढकालले भने, ‘यो प्रदूषणले स्वस्थ मानिसलाई माथिल्लो श्वासनलीमा हुने सङ्क्रमण हुने जोखिम धेरै हुन्छ। तर श्वासप्रश्वाससम्बन्धी रोगीलाई त यसले निकै गाह्रो पार्न सक्छ।’

    स्वस्थ व्यक्तिलाई पनि प्रदूषणका कारण हाच्छियुँ आउने, खोकी लाग्ने, नाकबाट सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने तथा छातीमा सङ्क्रमण हुनसक्ने ढकालले बताए।

    उनका भनाइमा वायु प्रदूषण बढेसँगै वायुमण्डलमा भाइरसको मात्रा विस्तार हुने क्रम पनि धेरै हुने भएकाले भाइरल सङ्क्रमणको जोखिम पहिलेभन्दा निकै बढ्छ।

    ‘यसले फोक्सोका दीर्घरोगीलाई त निकै गाह्रो बनाउँछ नै, दमलगायतका रोग भएका मानिसहरूले पनि विशेष सतर्कता अपनाउनुपर्छ,’उनले भने।

    आँखामा कस्तो असर ?

    त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगन्जकी उपप्राध्यापक तथा आँखा रोग विशेषज्ञ डा. रञ्जु खरेल सिटौलाका अनुसार अहिलेको वायु प्रदूषणले आँखामा निकै गम्भीर असर पर्न सक्छ।

    उनका भनाइमा आँखामा यस्तो प्रदूषणको अल्पकालीन र दीर्घकालीन दुवै प्रभाव पर्ने देखिन्छ।

    अल्पकालीन प्रभावबारे उनले भनिन्, ‘अहिलेको वायुमा कार्बन मनक्साइड , नाइट्रस अक्साइड आदि (हानिकारक ग्यास) को मात्रा छ। त्यसले गर्दा ‘अक्युलर सर्फेस डिस्अड’ अर्थात् आँखाको नानी र कोर्नीआको बाहिरको सतहमा असर पर्न सक्छ।’

    त्यस्तै, ‘ड्राई आई सिन्ड्रोम’ अर्थात् आँखा सुक्खा भएर विभिन्न समस्या पनि देखिन सक्छन्।

    प्रदूषणका कारण आँखाबाट आँसु आइरहने, आँखा रातो हुने, चिलाउने र दुख्ने, आँखाको डिल सुन्निने तथा भाइरस वा ब्याक्टेरिया प्रवेश गरेमा सङ्क्रमण हुने जोखिम बढेको उनले बताइन्।

    त्यस्तै यस्तो प्रदूषणको दीर्घकालीन प्रभाव भनेको आँखाको लेन्स नै बिग्रिने र मोतीबिन्दु वा जलबिन्दु पनि हुनसक्ने उनको भनाइ छ।

    उनका अनुसार वायु प्रदूषणका कारण रेटिना पनि बिग्रिने खतरा हुन्छ।

    फोक्सो र आँखा जोगाउन के गर्ने ?

    अहिलेको प्रदूषणबाट जोगिन सकेसम्म घरबाहिर ननिस्किन चिकित्सकहरूले सुझाव दिएका छन्।

    श्वासप्रश्वाससम्बन्धी समस्याबाट बच्नका लागि घरभित्रै बस्नु उपयुक्त हुने डा। ढकालको धारणा छ।

    सबैभन्दा बढी प्रदूषण बिहान ५ बजेदेखि ८ बजेसम्म हुने भएकाले सो अवधिमा प्रातः भ्रमणमा पनि ननिस्कन उनी श्वासप्रश्वासका रोगीलाई सुझाव दिन्छन्।

    फोक्सोका रोगीहरूले मास्क लगाएर पनि बाहिर जाँदा सुरक्षित नहुने उनको भनाइछ।

    उनका अनुसार बजारमा सजिलै पाइने कतिपय मास्कको गुणस्तर राम्रो नभएकाले अहिलेको जस्तो प्रदूषणबाट जोगिन त्यति सजिलो छैन।

    घरभित्र बस्दा पनि झ्याल र ढोका बन्द गर्न तथा धूप नबाल्न र धूमपान नगर्न ढकाल आग्रह गर्छन्।

    डा. सिटौलाका अनुसार आँखालाई बचाउनका लागि फोक्सो बचाउन मास्क लगाए जस्तै चस्मा वा सनग्लास लगाउनु उपयुक्त हुन्छ।

    यस्तो प्रदूषणका बेला ‘कन्ट्याक्ट लेन्स’ लगाउनेहरूलाई नलगाउन उनी सुझाव दिन्छिन्।

    त्यसले आँखालाई थप सुक्खा बनाउने र घाउ हुनसक्ने खतरा बढ्ने उनले औँल्याइलिन्।

    त्यस्तै, कुनै प्रिजर्भटिभ नभएको नक्कली आँसु प्रयोग गर्ने र दिनमा दुईदेखि तीन पटकसम्म सफा चिसो पानीले आँखा सफा गर्नु उपयुक्त हुने उनको सुझाव छ।

    तर धेरै पटक पानीले आँखा धोइरहनु प्रत्युत्पादक हुनसक्ने उनी बताउँछिन्।

    त्यस्तै आँखा नमिच्ने र हात सफा गरिरहनु गर्नुपर्ने तथा सङ्क्रमण भएमा चिकित्सकको सल्लाहमा औषधि प्रयोग गर्नुपर्ने उनले बताइन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार