काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) माओवादी केन्द्रको कारवाहीपछि प्रतिनिधिसभा सदस्य पदबाट मुक्त भएका चारजना मन्त्रीहरुलाई आजदेखि मन्त्रालयको ढोका बन्द भएको छ।
हिजोको प्रतिनिधिसभाको बैठकमा माओवादी केन्द्रले कारबाही गरेका चार सांसदलाई सभामुख अग्निप्रसाद सापकोटाले पदमुक्त भएको घोषणा गरेसँगै सांसदबाट मुक्त भएका मन्त्रीहरु मन्त्रीबाट पनि स्वत मुक्त भएका हुन्।
गत सोमबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सचिवायलाई पत्र पठाएर एमाले प्रवेश गरेका उद्योग बाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, उर्जा जलश्रोत तथा सिंचाइमन्त्री टोपबहादुर रायमाझी, शहरी विकास मन्त्री प्रभु साह र श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गौरीशंकर चौधरीले पूर्वपार्टी त्याग गरेको जानकरी दिएका थिए ।
यसैबीच, एमाले संसदीय दलका सुवास नेम्वाङले भने 'उनीहरुलाई प्रधानमन्त्रीले चाँडै नै सोही मन्त्री पदमा पुनर्नियुक्ति गर्नुहुदैछ।'
प्रतिनिधिसभा सदस्य नभएको व्यक्ति पनि ६ महिनासम्म मन्त्री हुन पाउने संवैधानिक व्यवस्था अनुसार माओवादीबाट एमाले बनेका नेताहरुलाई पुनर्नियुक्ति दिइने नेम्वाङले जानकारी दिए ।
उनीहरुलाई ढिलोमा आइतवारसम्म पुनःनियुक्ति गर्ने बालुवाटार स्रोतले जनाएको छ ।
यस्तै, नेकपा एमालेका नेता एवं प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले रायमााझी, भट्ट, साह र चौधरीले पद प्रतिष्ठाका लागि नभएर निष्ठाको राजनीति गरेकाले सबथोक हैसियत त्याग गर्ने स्पिरिटका साथ लामो यात्रामा अघि बढेको उल्लेख गरेका छन्।
थापाले सामाजिक सञ्जालमार्फत् भनेका छन् , ‘उहाँहरुले हिजो छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएको गौरवमय इतिहास साक्षी छ ।’
उनले लेखेका छन्, 'टाेपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गाैरीशंकर चाैधरी- केवल पद प्रतिष्ठाकाे लागि राजनीति हाेइन, राजनीतिक निष्ठाकाे लागि सबथाेक हैसियत त्याग गर्ने स्परिटसाथ लामाे यात्रामा अघि बढ्नुभएकाे छ । उहाँहरूले हिजाे छविलाललाई प्रचण्ड बनाउन जीवन लगाएकाे गाैरवमय इतिहास साक्षी नै छ ।'
https://twitter.com/ThapajiSurya/status/1380344993429155843