Online Nepal
  • आइतबार, ३० बैशाख २०८१
  • प्रधानमन्त्रीद्धारा पुष्पवृष्टिसहित पुनर्निर्मित धरहराको उद्घाटन

    प्रधानमन्त्रीद्धारा पुष्पवृष्टिसहित पुनर्निर्मित धरहराको उद्घाटन

    अनलाइन नेपाल
  • शनिबार, ११ बैशाख २०७८
  • 5.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्मित धरहराको उद्घाटन गरेका छन् ।

    धरहरा रहेको स्थान सुन्धारामा शनिबार विहान आयोजित एक कार्यक्रमका बीच प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरेका हुन् ।



    धरहरामा राखिएको शिलालेख अनावरण गरेपछि प्रधानमन्त्री ओलीले लिफ्टमार्फत २० औं तलामा रहेको बालकोनीमा पुगेर पुष्प वृष्टि गर्दै काठमाडौं उपत्यकाको दृष्यावलोकन गरेका थिए ।



    २०७२ सालको भूकम्पमा भत्किएको धरहरा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले पुनर्निर्माण गरेको हो । धरहरा पुनर्निर्माणको शिलान्यास प्रधानमन्त्री ओलीले २०७५ पुस १२ गते गरेका थिए ।

    बाहिरबाट हेर्दा धरहरा पुरानै डिजाइनको ११ तलाजस्तो देखिए पनि भित्री संरचना भने सुविधासम्पन्न २२ तलाको छ । धरहराको अग्लाइ जमिनबाट ८३.८५ मिटर रहेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जनाएको छ ।

    प्रधानमन्त्री ओलीले धरहराको उद्घाटन गरे पनि पुनर्निर्माणको सबै काम भने सम्पन्न भइसकेको छैन । त्यसैले अहिले नै सर्वसाधरण धरहरा अवलोकन गर्न जान पाउँदैनन् ।

    धरहरामा रंगरोगनको काम सकिएको छ र हाल दुईवटा लिफ्ट जडान गरिएको छ । यद्यपि तत्काललाई एउटा मात्र लिफ्ट सन्चालन गरिएको छ । पार्किङ क्षेत्र, बगैंचालगायतको काम पनि जारी छ ।

    २०७२ साल वैशाख १२ को भूकम्पले भत्किएर बाँकी रहेको धरहराको तल्लो भागलाई सिसाभित्र राख्ने काम पनि भएको छैन भने प्राधिकरणका अनुसार अब बाँकी काम सम्पन्न गर्न ९ महिना लाग्छ । त्यसैले प्रधानमन्त्रीले हतार–हतारमा उद्घाटन गरेको भनेर विरोध पनि भएकै छ ।

    भूकम्पले भत्किएपछि धरहरा क्षेत्र विस्तार भएको छ। अब धरहरा क्षेत्र ४२ रोपनी क्षेत्रफलमा फैलिने भएको छ। यस क्षेत्रमा एउटा अर्धभूमिगतसहित चार तल्ले भूकम्प र टक्सारसम्बन्धी सङ्ग्रहालय निर्माण भइरहेको छ। यहाँ ‘फूड कोर्ट’ सहितको ‘युटिलिटी ब्लक’ पनि बन्ने प्राधिकरणले जनाएको छ। धरहरा क्षेत्रमा विश्रामस्थलसहितको अत्यन्तै मनमोहक बगैँचा तथा सङ्गीतमय फोहरासमेत बन्नेछ। जसले आन्तरिक एवं बाह्य पर्यटकलाई यहाँ आकर्षित गर्नेछ।

    १९९० सालको भुइँचालोअघि धरहरा ११ तलाको थियो । सो भुइँचालोले दुई तला भत्किएपछि ९ तलामा सीमित भएको थियो । महारानी ललित त्रिपुरा सुन्दरीको सम्झनामा तत्कालीन प्रधानमन्त्री भिमसेन थापाले विक्रम संवत् १८८२ मा धरहरा बनाउन लगाएका थिए । त्यसैले धरहरालाई भिमसेन स्तम्भ पनि भनिन्छ । १९९० सालको भूकम्पले भत्किएको धरहरा तत्कालीन राणा प्रधानमन्त्री जुद्ध शमसेरले पुनर्निर्माण गराएका थिए । २०७२ सालको भूकम्पमा पुनः भत्किएपछि साढे तीन करोड लागतमा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहराको पुनर्निमाण गरेको हो ।

    धरहरा भत्किंदा पनि बचेकी श्रेष्ठलाई सम्मान
    प्रधानमन्त्री ओलीले धरहरा भत्किंदा पनि बाँच्न सफल भएकी रमिला श्रेष्ठलाई सम्मान गरेका छन् । शनिबार पुनर्निर्मित धरहराको उदघाटन कार्यक्रममा बल्खु काठमाडौंकी श्रेष्ठलाई सम्मान गरिएको हो । २०७२ वैशाख १२ गते धरहरामा चढेर काठमाडौं उपत्यका अवलोकन गर्ने क्रममा भूकम्प जाँदा उनी घाइते भएकी थिइन् ।

     

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार