Jul 25 2026 | २०८३, श्रावण ९ गते

25 Jul 2026 | शनिवार, श्रावण ९ गते २०८३

शनिवार, श्रावण ९ गते २०८३
images
images

त्रिशूलीमा दुई मजदुर बेपत्ता, तीनको उद्धार

चितवन। भरतपुर महानगरपालिका–१ ठिमुरामा देवघाट जोड्ने पुलको काम गर्दै गरेका दुई मजदुरहरु त्रिशूलीमा खस्दा बेपत्ता भएका छन् । तीन जनाको उद्धार गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार आज बिहान ९ बजेतिर पुलमा काम गर्दै गर्दा फलामसहित मजदुर खसेका थिए । दुई जना त्रिशूलीमा बेपत्ता भएको र फलामले च्यापिएका तीन जनाको उद्धार गरिएको उनले जानकारी दिए । उद्धार गरिएकालाई उपचारका लागि भरतपुरतर्फ ल्याइँदै गरेको छ । बेपत्ताको खोजी थालिएको छ ।

निर्माणाधीन सो पुलको केही भाग गत चैत २४ गते भाँचिएर नदीमा खसेको थियो । डिभिजन सडक कार्यालय चितवनका प्रमुख ई कृष्णराज अधिकारीले फलामको काम गर्दै गरेका जलप नेपालका मजदुर खसेको जानकारी आफूले पाएको बताए । घटनाको विस्तृत विवरण आइनसकेको उनको भनाइ छ । काम गर्दै गरेको जलप नेपालका सञ्चालक ताराप्रसाद पौडेलले त्यहाँ आज बिहानैदेखि १८ मजदुर कामका लागि गएको र घटनापछि आफू त्यसतर्फ जाँदै गरेको जानकारी दिए । ठिमुरा र देवघाट गाउँपालिका–५ घिनाटार जोड्ने ८.५ मिटर चौडाइ भएको २२० मिटर लामो पुल निर्माण भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077