Jul 19 2026 | २०८३, श्रावण ३ गते

19 Jul 2026 | आइतवार, श्रावण ३ गते २०८३

आइतवार, श्रावण ३ गते २०८३
images
images

उपत्यकाका प्रजिअहरुको संयुक्त बैठक बस्दै, लकडाउनबारे निर्णय गर्ने !

निर्मल बाबु लामिछाने / काठमाडौं । पछिल्लो समय नयाँ भेरियन्टको कोरोना भाइरसको बिगबिगीले महामारीको रुप लिएसँगै मुलुकभर सक्रिय संक्रमितहरुको संख्या दिनहुँ दिन बढ्दै गएको छ। छिमेकी मुलुक भारतमा कोरोनाले जरा गाडेको छ भने त्यसको प्रत्यक्ष असर नेपालमा परेको छ।

यसैबीच पछिल्ला दिनहरुमा काठमाडौँ उपत्यकाका तीन जिल्लाहरु (काठमाडौँ, भक्तपुर र ललितपुर)मा कोरोना महामारी बढेपछि थप कडाइ गर्ने तयारी गरिएको छ । कोरोना रोकथामबारे रणनीति बनाउन उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक आज दिउँसो १ बजे बस्दैछ ।

हिजो बसेको कोभिड -१९ संकट ब्यवस्थापन केन्द्र (सिसीएमसी)को बैठकले पाँच सयभन्दा बढी संक्रमित फेला परेका ठाउँमा निषेधाज्ञा (लकडाउन) लगाउन मन्त्रिपरिषद्लाई सिफारिस गरेसँगै उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको सयुक्त बैठक बस्न लागेको हो।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार उपत्यकामा थप कडाइ गर्ने प्रशासनको तयारी रहेको छ भने संक्रमित धेरै देखिएका ठाउँमा भिडभाड कम गर्ने रणनीति तय गरिने छ । त्यस्तै, सार्वजनिक यातायातको भीडभाड नियन्त्रण गर्नेगरी बैठकले रणनीति तयार गर्नेछ ।

त्यस्तै, हिजो बसेको सीसीएमसीको बैठकले पछिल्लो जोखिम नियन्त्रणका लागि कम्तीमा तीन साता देशभर लकडाउन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गरेकोसँगै मन्त्रिपरिषदको बैठक पनि आज साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ ।

आजको बैठकमा कोभिड संक्रमणको जोखिम बढिरहेका बेला रोकथामका लागि सरकारले चाल्ने थप कदमबारे छलफल हुने बालुवाटार स्रोतले बताएको छ।

हिजो (आइतबार) उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा बसेको सीसीएमसीको बैठकले सीसीएमसीको सो सिफारिसमाथि बैठकमा छलफल हुनेछ ।

त्यस्तै, सीसीएमसीले लकडाउन गर्नुपर्ने र त्यो नभए निषेधाज्ञामा जानुपर्ने सुझाएको थियो । यस्तै, पहाडमा २०० र शहरी क्षेत्रमा ५०० संक्रिय संक्रमित भएमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)ले निषेधाज्ञा गर्न सक्ने गरी सिफारिस गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077